झिमरुक नदीबाट राति राति गिट्टी बालुवाको अवैध उत्खनन

जेष्ठ ४, २०८२ |शमशेरविक्रम जीसी
झिमरुक नदीबाट राति राति गिट्टी बालुवाको अवैध उत्खनन

प्युठान । प्युठानको झिमरुक नदीबाट रातको समयमा मेसिनको प्रयोग गरी अवैध तवरले गिट्टी बालुवाको उत्खनन हुने गरेको छ । स्थानीय तह, प्रहरी प्रशासनको मिलेमतोमा क्रसर व्यवसायीले रातभर ठूला मेसिन प्रयोग गरेर गिट्टी बालुवाको दोहन गर्ने गरेको भेटिएको हो ।

झिमरुक नदीमा दिनभर मजदूर लगाएर साबेल र बेल्चाले नदीजन्य पदार्थ निकालिन्छ । तर रात परेपछि भने स्थानीय तह, प्रहरी प्रशासन र क्रसर व्यवसायीको मिलेमतोमा नदीमा एक्सकाभेटर, जेसीबी र बुल्डोजर लगाएर गिट्टी बालुवा निकालिन्छ । प्युठान नगरपालिकाको बेलुवाबाट क्रसर व्यवसायीले रातभर नदी उत्खनन गर्ने गरेका हुन् ।

ठेक्का प्रक्रियामार्फत प्युठान नगरपालिकाले झिमरुक नदीबाट बालुवा, गिट्टी, ढुंगा उत्खनन गर्ने गर्छ । ठेक्का सम्झौतामा नदीमा मेसिनको प्रयोग गरी उत्खनन गर्न नपाइने प्रावधान छ । तर क्रसर व्यवसायीले मेसिन लगाएर उत्खनन गर्दा प्रहरी प्रशासन र स्थानीय तह मौन बसेका छन् । विकास निर्माणका काममा समेत नदीजन्य पदार्थ उत्खनन गर्दा मेसिन लगाउन नदिने नगरपालिकाले क्रसर व्यवसायीको बदमासीमा भने नदेखे झैं गरी बस्दा जनप्रतिनिधिकै मिलेमतो त छैन भन्ने आशंका गरिएको छ ।

मेसिनको प्रयोग गरी हुने अवैध उत्खननले नदीको बहाव बर्सेनि फेरिने, खेतीयोग्य फाँट तथा नदी क्षेत्रमा गरिएको तटबन्ध समेत जोखिममा पर्ने गरेको छ । तर ठेक्का लगाउँदा नदीमा मेसिनको प्रयोग गरी उत्खनन गर्न नपाइने प्रावधान राखेका प्युठान नगरपालिकाका जनप्रतिनिधि भने बेल्चाले मात्रै नदीजन्य पदार्थ उत्खनन गरेर साध्ये नलाग्ने बताउँछन् ।

विकास निर्माणका काममा समेत नदीजन्य पदार्थ उत्खननमा मेसिनको प्रयोगलाई रोक्ने स्थानीय तहले क्रसर व्यवसायीसँगको मिलेमतोमा रातमा मेसिन लगाउन दिनु गैरकानुनी हो ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।