काठमाडौं । नेकपा (एमाले)का सांसद भिमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राख्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव गर्नुभएको हो ।
उहाँले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र वचत फिर्ता नगरे कडा कारबाही गर्ने कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
सांसद आचार्यले सहकारीको समस्या अहिले देशको आर्थिक स्थायित्वमा ठूलो चुनौती बनेको उल्लेख गर्दै नीतिगत र कानुनी पुनरावलोकन गर्न आवश्यक रहेको बताउनु भयो । सहकारी ठगीमा संलग्नहरुलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उहाँको भनाइ छ ।
सहकारीका समस्या समाधान गर्न अगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले स्पष्ट नीति लिनुपर्ने उहाँको भनाइ छ ।