विपद्‌बाट हुने क्षतिको जोखिम न्यूनीकरण तयारीबारे सरकारसँग जवाफ माग

जेष्ठ ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद्‌बाट हुने क्षतिको जोखिम न्यूनीकरण तयारीबारे सरकारसँग जवाफ माग

काठमाडौं । सांसदहरूले बर्खायाममा विपद्‍बाट हुने क्षतिको जोखिम न्यूनीकरणको तयारीबारे सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधि सभाको आज बसेको बैठकमा सांसदहरूले वर्षायाम सुरु हुन लागेको भन्दै बाढीपहिरो लगायतका विपद्‍बाट हुने जनधनको क्षति रोक्न सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको जवाफ माग गरेका हुन् ।

शून्य र विशेष समयमा बोल्दै सांसदहरूले बजेट विनियोजनमा भेदभाव र आफूखुशी बजेट वितरण नगर्न आग्रह गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको बारे प्रश्न गर्दै सांसदहरूले पछिल्लो समय पटक पटक बिजुली जान थालेको भन्दै विरोध जनाएका छन् । अब मैनबत्ती र जेनेरेटर किन्नुपर्ने अवस्था आएको हो भनेर सांसदहरूले प्रश्न गरेका छन् ।

सांसदहरूले विद्युत् प्राधिकरणको लापरबाहीले काभ्रेमा विद्युत् प्राधिकरणको खम्बामा काम गरिरहेका मजदूरको मृत्युको घटना बढेको भन्दै सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो काभ्रेको धुलिखेल-७ मा विद्युत्‌को खम्बामा काम गरिरहेका सर्लाहीका उपेश परियारको प्राधिकरणलेबिना सूचना बिजुली छाड्दा करेन्ट लागेर ज्यान गएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.