पाँचथर । पाँचथरमा महिलाका लागि पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षणका लागि शिविर आयोजना हुने भएको छ ।
फिदिम नगरपालिकाले गत वर्ष गरेको एचपीभी परीक्षणमा १ हजारमध्ये ४२ जनामा पाठेघरको मुखको क्यान्सर पुष्टि भएसँगै यो वर्ष अल्ट्रासाउन्ड र भिडियो एक्स रे सुविधासहितको क्यान्सर परीक्षण शिविर आयोजना गर्न लागिएको हो ।
फिदिममा आज आयोजित क्यान्सर सम्बन्धी अभिमुखीकरण कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको प्राविधिक सहयोगमा जेठ ९ र १० गते पाँचथर अस्पतालमा शिविर सञ्चालन हुने जानकारी दिइयो ।
शिविरमा दुई हजार महिलाको पाठेघरको मुखसँगै स्तन क्यान्सर परीक्षण गरिने नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो । शिविरमा महिलासँगै पुरुषको समेत स्तन क्यान्सर परीक्षण गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश यादवको भनाइ छ ।