काठमाडौं । २५ बुँदे 'काठमाडौं घोषणापत्र' जारी गर्दै पहिलो सगरमाथा संवाद आज सकिएको छ । यही जेठ २ गते सुरु भएको सगरमाथा संवाद आज 'सगरमाथा कल फर एक्सन' नामक घोषणापत्र जारी गर्दै सकिएको हो ।
समापनका अवसरमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृत राईले सगरमाथा संवाद हिमालको विषय समुद्र सतहसम्मको साझा विषय हो भन्ने मुद्दालाई स्थापित गर्न सफल भएको बताउनुभयो । यस्तै, विकासोन्मुख र अति कम विकसित देशलाई विश्वले आर्थिक, प्राविधिक र विज्ञानका हिसाबले सहयोग गर्नुपर्नेमा सम्मेलनको जोड रहेको उहाँको भनाइ छ । यसो नगरिए पेरिस सम्झौताको लक्ष्य हासिल गर्न नसकिने पनि सचिव राइले बताउनुभयो ।
सम्मेलनको अन्तिम दिन आज बिहान हवाई उडानमार्फत विदेशबाट आएका २४ जना पाहुनालाई हिमालको दृश्यावलोकन गराइएको थियो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको नेतृत्वमा २४ विदेशी र केही स्वदेशी पाहुनालाई माउन्टेन फ्लाइट गराइएको हो ।
कार्यक्रमको दोस्रो दिन हिजो जलवायु परिवर्तनका कारण भएको हानि, नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउन विज्ञहरूको जोड दिएका थिए । विज्ञहरूले विकासशील तथा गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानि नोक्सानीको क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनुपर्नेमा जोड दिएका हुन् ।
हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर र हानि नोक्सानीका बारेमा छलफल भएको छ । त्यस क्रममा नेपाल जस्ता अल्पविकसित देशले जलवायु परिवर्तनसँग जुध्न आवश्यक कार्यक्रम सञ्चालन गर्न जलवायु कोषहरूमा सहज पहुँच पुर्याउन आवश्यक रहेको बताए ।
दोस्रो सगरमाथा संवाद सन् २०२७ मा हुने भएको छ ।