काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री विजयकुमारसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार, बागमती नगरपालिका प्रमुख भरतकुमार थापा, बागमती नगरपालिकाका तत्कालीन उपप्रमुख लीलाकुमारी मोक्तानसहित ८ जनालाई प्रतिवादी बनाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमारले मन्त्रिपरिषद्बाट निर्णय नगराई एकल रूपमै सर्लाहीस्थित भरततालमा माछापोखरी निर्माणका लागि बागमती नगरपालिकालाई ३० करोड अनुदान दिएको अनुसन्धानबाट खुलेको छ ।
कुनै सम्भाव्यता समेत अध्ययन नगरी बागमती नगरपालिकालाई माछापोखरी निर्माण गर्न प्रदेश सरकारले ४७ करोड रुपैयाँ दिएको रिटमा उल्लेख छ । त्यसमध्ये १७ करोड मन्त्रिपरिषद्बाट निर्णय गराएको भए पनि ३० करोड रुपैयाँ अर्थमन्त्रीको एकल निर्णयबाट गरिएको जनाइएको छ । उक्त स्थानमा माछापोखरी निर्माणका लागि पटक पटक अनुदान लिए पनि माछापालन भने भएको छैन ।
अख्तियारले पूर्वमन्त्री विजयकुमारसँग २९ करोड ९९ लाख ८६ हजार, बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतकुमार थापा र नगरपालिकाकी निलम्बिन उपप्रमुख लीलाकुमारी मोक्तानसँग जनही ५६ करोड ७१ लाख बिगो दाबी गरेको छ ।
बागमती नगरपालिकाका प्रमुख थापाले माछापोखरी पालनसम्बन्धी सम्भाव्यता अध्ययन समेत नगरी स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट ५६ करोड रुपैयाँ अनुदान लिनुभएको थियो । तर उक्त रकम अपचलन गरेको पुष्टि भए पछि आयोगले मधेश प्रदेशका भरत ताल निर्माणमा भ्रष्टाचार भएको आरोपमा नगरप्रमुख भरतकुमार थापाविरुद्ध अर्को मुद्दा पनि चलिरहेको छ ।