दाङ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा प्रस्तुत गरिँदैछ । भोलि दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आगामी आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ ।
प्रदेशसभा सदस्यहरुले नीति तथा कार्याक्रमले समग्र लुम्बिनी प्रदेशको विकासको खाका ल्याउनुपर्ने, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धीका लागि विशेष योजना ल्याउनुपर्ने, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा गरिनुपर्ने, सडक सञ्चालले छुन नसकेका लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पूर्वि रुकुमका पालिकाहरुमा सडक निर्माणको योजना ल्याउनुपर्ने जस्ता माग राखेका छन् ।
यसैबीच, लुम्बिनी प्रदेशसभामा पेश भएको सामूहिक कर, राजश्व संकलन गर्ने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । गत बिहीवार लुम्बिनी प्रदेश सभामा पेश भएको विधेयकमाथि शुक्रबार सैद्धान्तीक छलफल गरिएको थियो ।
आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले दफावार छलफलका लागि प्रस्ताव गरे पनि कुनै पनि संशोधन नपरेपछि आजको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो ।