काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको भन्दै आपत्ति जनाउनुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाउनुभएको हो ।
नेपाल विद्युत प्राधिकरणमार्फत् काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका-७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा-१२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो ।
सांसद शाही ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गर्नुभयो ।
उहाँले फरक विचार राख्न पाउने संवैधानिक अधिकार भएपनि सरकारले धरकपड गरिरहेको भन्दै सरकार संविधानभन्दा ठुलो हुन खोजेको आरोप समेत लगाउनु भयो ।