सिरहा । जिल्लाकाे मिर्चैया नगरपालिका-७, बाख्रा बजारस्थित मिर्चैया-कटारी सडकखण्डमा गत मंगलबार बिहान टिपरको ठक्करबाट स्थानीय ६५ वर्षीय महेन्द्र महराको घटनास्थलमै ज्यान गयो ।
मिर्चैया क्षेत्रमा धनजनको क्षति पुर्याउँदै आएको सिमेन्ट उद्योगका लागि चुनाढुंगा बोक्ने टिपरले फेरि एक जनाको ज्यान लिएपछि स्थानीय आन्दोलित भए ।
स्थानीयको आन्दोलनपछि त्यसयता चुनढुंगा बोक्ने टिपरहरू चल्न पाएका छैनन् । तर, शुक्रबार भने अबदेखि टिपर सञ्चालन हुने सहमति गराइएको छ । सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको सक्रियतामा सिरहामा बसेको बैठकबाट टिपर सञ्चालनको सहमति भएको हो ।
आफूसँगै सुरक्षा निकायका प्रतिनिधि, ट्राफिकका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पीडित परिवार र स्थानीयबीच छलफलपछि सहमति जुटेको बरालले बताउनुभयाे । उहाँका अनुसार, बैठकमा ९ बुँदे सहमति भएको छ ।
टिपर आजैबाट खुलाउनेसहित सिमेन्ट उद्योग र टिपर व्यवसायीले वैकल्पिक मार्ग निर्माणका लागि १५ दिनभित्र वातावरणीय प्रभाव मूल्यांकनको काम थाल्ने, टिपरको भार क्षमताभन्दा बढी ओसारपसार नगर्ने, लोड टिपरहरू राति ९ बजेदेखि बिहान ४ बजेसम्म मात्र सञ्चालन गर्ने सहमति भएको उहाँले बताउनुभयाे ।
यस्तै, टिपरको गति प्रतिघण्टा २५/३० किलोमिटर कायम गर्ने, कटारी चोकदेखि उत्तर तर्फको बाटोमा ३ वटासम्म सीसीटीभी क्यामेरा जडान गर्न खानी, सिमेन्ट उद्योग र ट्रिपर व्यवसायीले संयुक्त रूपमा स्रोत जुटाउने, टिपर व्यवसायीले लाइसेन्ससहित चालकको नामावली प्रहरीमा बुझाउने सहमतिमा उल्लेख छ ।
यसैगरी, टिपर व्यवसायीले लागूऔषध सेवन चेकजाँच किट प्रहरीलाई उपलब्ध गराउने र मिर्चैया नगरपालिकाको उपयुक्त स्थानमा धर्मकाँटा व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने सहमति पनि भएको छ ।
तर, यस्तो सहमति भएको यो पहिलो पटक होइन । यस क्षेत्रका बासिन्दा टिपर आतंकविरूद्ध आन्दोलित हुँदै यस्तै सहमति यसअघि दर्जनबढी पटक प्रशासनको अति सक्रियतामा उद्योग, टिपर व्यवसायी र स्थानीयबीच भएको स्थानीय रामउदगार साह बताउनुहुन्छ ।
अहिले भएको सहमतिका लागि पनि खासगरी सहायक प्रमुख जिल्ला अधिकारी बरालले शंकास्पद ढंगले अति सक्रियता देखाएको एक सहभागीले बताउनुभयाे । पीडित परिवारको तर्फबाट आफूहरूले एक जनालाई मारूती सिमेन्ट उद्योगमा रोजगारीका लागि माग गरेपनि त्यो पनि लिखित सहमतिमा समावेश नगरेको उहाँको भनाइ छ ।
तर, बराल भने आफू उद्योग र टिपर व्यवसायीको पक्षमा लागेको कुरा गलत भएको बताएका छन । यसपालि विगतको जस्तो नहुने र यसको कार्यान्वयनका लागि प्रशासनसहित सबै पक्ष सक्रिय भएर लाग्ने बरालले बताउनुभयाे ।