डोल्पा । चितवनको भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबीच आपसी सहकार्य र विकास साझेदारीका लागि सात बुँदे भगिनी सम्बन्धमा हस्ताक्षर गरिएको छ ।
भरतपुरकी नगर प्रमुख रेणु दाहाल र मुड्केचुला गाउपालिका अध्यक्ष दत्त बहादुर शाहीले संयुक्त रूपमा भगिनी पत्रमा हस्ताक्षर गर्दै ऐतिहासिक सहमति जनाएका हुन् ।
वागमती प्रदेशको भरतपुर र कर्णाली प्रदेशको मुड्केचुलाबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक समानता रहेका छन । देवघाटधाम र मुड्केचुला तीर्थस्थलजस्ता परम्परागत आस्थाका केन्द्रहरूलाई आधार बनाउँदै दुवै पालिकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने बताइएको छ ।
दुवै स्थानीय तहले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, प्रविधि, उद्यमशीलता र संयुक्त परियोजनामा सहकार्य गर्नेगरी मौलिक कृषि उपजको बजारीकरण, नयाँ प्रविधिको आदान-प्रदान, प्राविधिक तालिम, भ्रमण र सफल अभ्यासहरूको साझेदारी गर्दै सेवा प्रवाहमा प्रभावकारिता ल्याउने सहमति भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार, संयुक्त उद्यम, एम्बुलेन्स, दमकल सेवा, बस्ती विकास, तथा भौतिक-आर्थिक सहयोग जस्ता क्षेत्रमा साझेदारी विस्तार गरिने उल्लेख गरिएको छ।
सम्झौता समारोह भरतपुर महानगरपालिकामा सम्पन्न भएको हो । जहाँ उपप्रमुख चित्रसेन अधिकारी, प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, मुड्केचुलाका उपाध्यक्ष दुदा रोकाया र प्रमुख प्रशासकीय अधिकृत रेशम महतारा पनि साक्षी रहेका छन ।
प्रमुख प्रशासकीय अधिकृत महताराका अनुसार यो भगिनी सम्बन्धले दुवै पालिकाको सेवा, सीप र सम्भावनाको सम्मिलन गरी समुन्नत विकासमा योगदान पुर्याउने रहेको कुरा बताउनुभएको छ ।