जुम्लाको भैरवनाथ मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै, पर्यटक आवागमन बढेपछि बजारसमेत चलायमान

कार्तिक १२, २०८२ |डीबी बुढा
जुम्लाको भैरवनाथ मन्दिर धार्मिक पर्यटनको गन्तव्य बन्दै, पर्यटक आवागमन बढेपछि बजारसमेत चलायमान

जुम्ला । जुम्ला सदरमुकाम खलंगामा रहेको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा पुग्ने आन्तरिक र बाह्य पयर्टक र तीर्थयात्री पछिल्लो बढ्दै गएका छन् । 

निकै पुरानो इतिहास बोकेको यो मन्दिरमा अहिले दैनिक सयौं जना दर्शन गर्न पुग्छन् । यसले मन्दिरको प्रचारप्रसारसँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा जुम्लालाई स्थापित गर्न मद्दत पुगेको छ । मुगुस्थित नेपालकै ठूलो ताल रारा भ्रमणसँगै चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गर्ने आगन्तुकहरूको संख्या ठूलो मात्रामा बढेको छ । 

गत वैशाखदेखि हालसम्म ७ हजार भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकले मन्दिरको दर्शन गरेका छन । कर्णाली राजमार्ग हुँदै रारा तालको अवलोकन गर्न जानेहरू होऊन् वा जहाजबाट सिधै जुम्ला पुगेर चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन गरेर राराताल जाने गरेका छन् । यसले खलंगामा पर्यटक आवागमन बढाएको छ । चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले मन्दिरमा आउने सबैको अभिलेख राख्ने गरेको छ ।

चन्दननाथ मन्दिर धार्मिक स्थल मात्र नभई जुम्लाको सांस्कृतिक र ऐतिहासिक पहिचानको धरोहर पनि हो । यहाँको भव्य मन्दिर, लिङ्गो फेर्ने चलन, दत्तात्रय र भैरवनाथको आराधना, र परम्परागत भजन-कीर्तनले यो ठाउँलाई आस्थाको केन्द्र बनाएको छ । विदेशी अध्येता र विद्यार्थीहरू यहााको इतिहास र संस्कृति अध्ययन गर्न आउने गर्छन् । यतिबेला पर्यटक आवागमन बढेपछि बजारसमेत चलायमान भएको छ ।

मन्दिरमा दैलेखबाट ल्याइने दियो वर्षभरी बलिरहन्छ, र प्रत्येक साउन शुक्ल प्रतिपदामा नयाँ दियो ल्याउने परम्परा आजसम्म निरन्तर छ । यो मन्दिरमा दर्शन र आरती गर्नाले मन शान्त हुने र मनोकामना पूरा हुने विश्वास छ । सरकारी उच्च अधिकारीहरूले समेत जुम्ला आउने बित्तिकै मन्दिर दर्शन गर्ने गरेका छन् । तर कमजोर सडक पूर्वाधार र हवाइयात्राको सहज पहुँच नभएकोले पर्यटकहरूले समस्या भोगिरहेका छन् ।

धार्मिक आस्था, इतिहास र प्राकृतिक सौन्दर्यको संगम चन्दननाथ भैरवनाथ मन्दिर आज जुम्लाको पहिचान हो । यसकोे आध्यात्मिक शक्तिले कर्णालीको पर्यटनलाई नयाँ उचाइँमा पुर्‍याएको छ । चन्दननाथ भैरवनाथमा थप तीर्थालु र पर्यटक आकर्षित गर्न स्थानीय सरकारले पनि पर्यटनमैत्री संरचना निर्माण, बजार स्वच्छ र सफा राख्नेदेखि पर्यटनमैत्री जीवनशैली अपनाउनुपर्ने आवश्यकता देखिन्छ ।

कान्तिपुर समाचारका लागि डीबी बुढा,जुम्ला ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।