काठमाडौं । जेन-जी आन्दोलबाट क्षतिग्रस्त प्रहरीका अधिकांश संरचना डेढ महिनामै नयाँ स्वरूपमा फर्किएका छन् ।
प्रदर्शनका क्रममा क्षति पुगेका ४ सय ६५ प्रहरी कार्यालयमध्ये ४ सय ३६ वटा पुनर्स्थापना भएका छन् । तर यी क्षतिग्रस्त संरचना राज्यकोषबाट नभइ नागरिक समाज, संघ-संस्था र स्थानीयको सहयोगमा पुनर्निर्माण भएका हुन् ।
भदौ २३ र २४ गतेको जेन-जीको प्रदर्शनका देशभर ४ सय ६५ प्रहरी कार्यालयमा क्षति पुगेको थियो । १ सय १८ वटा संरचनामा त पूर्णरूपमा ध्वस्त भएका थिए । ३ सय ४७ वटामा आंशिक क्षति पुगेको थियो । काठमाडौ उपत्यकामा मात्रै २ सय १० वटा संरचनामा क्षति पुगेको थियो ।
त्यस्तै कोशी प्रदेशमा ५७, मधेशमा ९०, बागमतीमा ४५, गण्डकीमा ३३, लुम्बिनीमा १४ र सुदूरपश्चिममा १६ वटा कार्यालयमा क्षति पुगेको थियो । ती मध्ये ४ सय ३६ वटा कार्यालय पुनर्स्थापना भएका छन् । यी कार्यालयको पुनर्स्थापना गर्न सरकारले राज्यकोषबाट कुनै रकम खर्च गर्नु परेन । प्रहरीको मनोबल बढाउन र मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नागरिक स्वयम् अग्रसर भएर संरचना बनाइ दिएका हुन् ।
नागरिक समाज, स्थानीय वासिन्दा, विभिन्न संघ-संस्थालगायतको सहयोगमा झन्डै २५ करोडको लगानीमा यी संरचनाहरू बनाइएका हुन् । यसले नागरिक र प्रहरीबीच विश्वासको वातावरण मात्र बनाएको छैन, प्रहरीको मनोबल उच्च बनाइदिएको छ ।प्रहरीका कार्यालय मात्र होइन, स्रोत साधनदेखि बर्दीसम्ममा क्षति पुगेको थियो ।
यसले प्रहरी कर्मचारीलाई शान्ति सुरक्षा कायम गर्नेदेखि दैनिक नियमित काम गर्नै समस्या परेको थियो । यो अवस्थालाई बुझेर स्थानीयबासिन्दा, नागरिक समाज र विभिन्न संघ-संस्थाले संरचना पुनर्निर्माणमा सहयोग गरेका हुन् । अझै २८ वटा संरचना नागरिककै सहयोगमा पुनर्निर्माणको चरणमा छन् ।
शान्ति सुरक्षा नागरिकको आधारभूत आवश्यकता भएको त्यसको प्रत्याभूति प्रहरीले मात्र गर्न सक्ने भएकाले स्थानीयले संरचनाहरू बनाउन सहयोग गरेका हुन् । राज्यको लगानीबिना नागरिककै सहयोगबाट पुनर्निर्माण भएका प्रहरी संरचनाबाट प्रहरीले अहिले सहजै काम गरिरहेका छन् । यसले प्रहरी र नागरिकमा नयाँ विश्वासको वातावरणसमेत बनाएको छ ।