रासायनिक मलको विकल्प दिन खुलेका कारखानाले पनि किसानको मन जित्न सकेन

जैविक मल बनाउने बहानामा सरकारी अनुदान हत्याउने प्रवृत्ति बढ्दो
जेष्ठ २, २०८२ |रमा दाहाल
रासायनिक मलको विकल्प दिन खुलेका कारखानाले पनि किसानको मन जित्न सकेन

झापा । किसानलाई रासायनिक मलमा अनुदान दिन सरकारले वर्षेनी ठूलो रकम खर्च गर्छ । तर, किसानले चाहेको बेला मल भने कहिल्यै पाउँदैनन् । 

यस्तो अवस्थामा रासायनिक मलको विकल्प दिन खुलेका जैविक मल कारखानाले पनि किसानको मन जित्न सकिरहेका छैनन् । केही मल कारखाना त सरकारी अनुदान पाउनकै लागि मात्रै खुलेको समेत भेटिएको छ ।

कोशी प्रदेश सरकारको करिब एक करोड अनुदान सहयोगमा झापामा दुइवटा जैविक मल कारखाना खुलेका छन । त्यसमध्ये ५० लाख अनुदान लिएको बुद्धशान्ति गाउापालिकामा रहेको अंकुरण एग्रोले अहिलेसम्म मल उत्पादन नै गरेको छैन । 

अनुदान पचाउनकै लागि बनाइएको टहरो र त्यसभित्र केही कच्चा पदार्थबाहेक अहिले यो कारखानामा केही पनि देख्न सकिंदैन । प्रदेश सरकारबाट करिब ४४ लाख अनुदान लिएको विर्तामोडको हाई हिमालय अर्गानिकले पनि लक्ष्यअनुसार मल उत्पादन गर्न सकेको छैन । थ्रीस्टार नाममा जैविक मल उत्पादन गरिरहेको यो कारखानाका व्यवस्थापक आफूहरुले झापाका चिया बगानमा मल पुर्‍याइरहेको दाबी गर्छन् ।

फितलो सरकारी नीति, अनुगमनको कमजोरी र योजना कार्यान्वयनमा लापरवाहीले गर्दा न त रासायनिक मलको अभाव हटेको छ, न त जैविक मलले किसानको मन नै जित्न सकेको छ । बरू जैविक मल बनाउने बहानामा सरकारी अनुदान हत्याउने प्रवृत्ति बढ्दो छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।