काठमाडौं । जलवायु परिवर्तनका मुद्दामा केन्द्रित हुँदै भोलिदेखि सुरु हुने सगरमाथा संवादमा भाग लिन विदेशी अतिथिहरू आउने क्रम जारी छ । यसैक्रममा भारतका केन्द्रीय वनमन्त्री भूपेन्द्र यादव काठमाडौं आइपुग्नुभएको छ ।
भारतीय मन्त्री यादवलाई वनमन्त्री ऐनबहादुर शाही ठकुरीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको हो । चिनियाँ जनकंग्रेसका स्थायी समितिका उपाध्यक्ष सिआओ ची पनि बुधबारै नेपाल आइसक्नुभएको छ । सगरमाथा संवादमा सहभागी हुन १२ देशको उच्चस्तरीय टोली नेपाल आउँदै छन् ।
भोलिदेखि ३ दिनसम्म चल्ने सगरमाथा संवादको तयारी अन्तिम चरणमा पुगेको सचिवालयले जनाएको छ । सगरमाथा संवादको माध्यमबाट नेपालले जलवायु परिवर्तनले नेपालमा पारेको असर विश्व समुदायसमक्ष पुर्याउने उद्देश्य लिइएको छ ।
शुक्रबार उद्घाटन सत्रमा विदेशी पाहुनाले मन्तव्य दिने तालिका छ । संवादको अन्तिम दिन ४ जेठमा सगरमाथा घोषणापत्र जारी हुने छ ।