२०८०/८१ मा देशभरका सरकारी कार्यालयको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
२०८०/८१ मा देशभरका सरकारी कार्यालयको बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा देशभरको कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख देखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रस्तुत गरिएको महालेखापरीक्षकको ६२ औं प्रतिवेदन अनुसार ५ हजार ७५९ सरकारी कार्यालयको लेखापरीक्षण गर्दा उक्त परिमाणमा बेरुजु देखिएको हो । 

संघीय सरकारका कार्यालयमा ४७ अर्ब ७४ करोड ३० लाख, स्थानीय तहको २५ अर्ब ३२ करोड र प्रदेश कार्यालयको ४ अर्ब २० करोड देखिएको हो । यस्तै, अद्यावधिक बेरुजुतर्फ संघीय, प्रदेश तथा स्थानीय तहमा गरी ७ खर्ब ३३ अर्ब १९ करोड देखिएको छ । महालेखापरीक्षक तोयम रायबाट प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताउनुभयो । 

वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानुनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

महालेखापरीक्षक रायले प्रदेशको काम कारबाहीका सम्बन्धमा अलग अलग प्रतिवेदन तयार गरिएको र यस्ता प्रतिवेदन प्रदेश प्रमुखहरूलाई पेश गरिएको जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.