१० बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलनको समापन

वैशाख ३०, २०८२ |बालकृष्ण अधिकारी
१० बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश युवा सम्मेलनको समापन

मकवानपुर । १० बुँदे घोषणापत्र जारी गर्दै ३ दिने बागमती प्रदेश युवा सम्मेलन २०८२ सकिएको छ ।

'सिर्जनशीलता र उद्यमशीलता प्रवर्धन : बागमतीमा युवा सशक्तीकरण' भन्ने नाराका साथ आइतबारदेखि सुरु भएको सम्मेलनले प्रदेशको समृद्धि र सुशासनका लागि युवालाई निर्णायक शक्ति बनाउने संकल्पसहितको १० बुद्धे घोषणापत्र जारी गरेको हो ।

आयोजक प्रदेश युवा परिषद् बागमतीका उपाध्यक्ष सन्तोष चौंलागाईले जारी गरेको घोषणापत्रमा प्रदेशको नीति निर्माण, नवप्रवर्तन र उद्यमशीलतामा युवाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।

सम्मेलन समापन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र  युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई घोषणापत्र हस्तान्तरण गरियो । 

कार्यक्रममा मुख्यमन्त्री लामाले युवा पलायनलाई रोक्ने योजना बनाउन प्रदेश सरकार लागि रहेको बताउनुभयो । विज्ञान र प्रविधिसँग जोडिएको योजनालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकता दिने उहाँको भनाइ छ । मुख्यमन्त्री लामाले युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।

सम्मेलनमा कृषिमा नवप्रर्वतन र युवा संलग्नता सम्भावना र चुनौती, डिजिटल सुशासन र प्रविधिमा युवा, शिक्षा सीप र सिर्जना, दिगो विकासमा जलवायु परिवर्तन र युवा, नीति नेतृत्व र युवा संलग्नता तथा मुख्यमन्त्रीसँग युवा लगायतका विषयमा विज्ञहरूसँग प्यालन छलफल र कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।

सम्मेलनमा बागमती प्रदेशका १३ जिल्लाबाटै छानिएका र अन्य ६ प्रदेशबाट प्रतिनिधिका रुपमा आएका ३ सयभन्दा बढी युवाको सहभागिता थियो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।