काठमाडौं । अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको झन्डै डेढ दशकको करिअरपछि भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । केही दिनयता उनको सन्न्यासबारे अपुष्ट सूचना आइरहेको भए पनि उनले आज सामाजिक सञ्जालमा सन्न्यासको घोषणा गरेर प्रशंसकलाई स्तब्ध बनाएका हुन् ।
३६ वटा विश्व कीर्तिमानका नायक विराटले यो डेढ दशक अवधिलाई स्मरणयोग्य तवरले पूरा गर्दै टेस्टबाट बिदा मागेका छन् ।
‘मैदानमा साथ दिएका साथीहरू र मलाई मूल्यवान महसुस गराउने हरेक व्यक्तिप्रति कृतज्ञताले भरिएको मन लिएर टेस्ट क्रिकेटको यात्राबाट बाहिरिँदैछु’, सन्न्यास घोषणा गर्दै विराट कोहलीले सामाजिक सञ्जालमा भनेका छन् । भारतीय क्रिकेट पछिल्लो दशक कोहली र रोहित शर्माको प्रदर्शनको वरपर रह्यो । बिस्तारै यी दुई खेलाडीले आफ्नो जिम्मेवारी युवा खेलाडीलाई सुम्पिरहेका छन् । दुवैले टेस्ट र टी-२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । अझ विराट त, विश्वकै सफल टेस्ट कप्तानमध्येमा पर्छन् ।
सर्वाधिक छिटो १४ हजार रन पूरा गर्ने, सबैभन्दा धेरै प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित हुने, सबैभन्दा धेरै अर्धशतक प्रहार गर्ने लगायत ३६ वटा कीर्तिमान त उनकै पोल्टामा छन् ।
विराटले भारतका लागि ६८ टेस्टमा कप्तानी गरे, जसमा ४० जित र १७ हार हात पार्दै उनी टेस्ट क्रिकेटमा भारतका सबैभन्दा सफल कप्तान बने । उनको कप्तानीमा भारत सन् २०२१ मा पहिलो विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुग्यो, जहाँ उसले न्युजिल्यान्डसँग हार बेहोर्नुपर्यो । विराट २०२३ मा अस्ट्रेलियासँग दोस्रो विश्व टेस्ट च्याम्पियनशिप फाइनल हारेको टोलीको पनि हिस्सा थिए ।
कोहलीले सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेयता १२३ टेस्ट खेलमा ३० शतकसहित ९ हजार २३० रन बनाए । यो प्रदर्शनमा उनको औसत ४६.८५ रन रहेको छ । उनले टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध अविजित २५४ रन बनाएका थिए । कोहलीलाई सन् २०१४ देखि २०२२ सम्मको टेस्ट कप्तानीकालका लागि सम्झिने गरिन्छ ।
पाँच दिन लामो टेस्ट क्रिकेटमा समर्थकले नदेखेका थुप्रै क्षण आफ्नो सम्झनामा रहेको उनले बताएका छन् । उनले यो फर्म्याटबाट आफूलाई अलग राख्नका लागि सजिलो नभएको तर यो नै सही समय भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । त्यसैगरी उनले आफ्नो करिअर जहिल्यै पनि खुशीसाथ सम्झिने बताएका छन् ।
इङ्ल्यान्डमा आउँदो पाँच खेलको सिरिजअघि नै उनले गत शनिबार आफूले सन्न्यास लिन चाहेको भारतको क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईलाई बताएका थिए । २० जुनबाट सुरु हुने सिरिजका लागि उनको नाम आउने विश्वास गरिएको थियो । त्यसअघि नै उनले सन्न्यास लिए ।
गत साता कप्तान रोहित शर्माले पनि टेस्टबाट सन्न्यासको घोषणा गरेपछि भारतीय टिमको जिम्मेवारी शुभमन गीलले पाएका छन् । तर बीसीसीआईले कोहलीको अनुभव आवश्यक पर्ने भएका कारण उनलाई इङ्ल्यान्ड सिरिजमा समावेश गर्न चाहेको छ । कोहली र रोहितले यस वर्ष जनवरीमा अस्ट्रेलियासँगको टेस्ट सिरिज हारमा निराशाजनक प्रदर्शन गरेका थिए । उक्त हारले भारतले एक दशकपछि बोर्डर-गावस्कर ट्रफी गुमाएको थियो ।
यी दुवै खेलाडीले गत वर्ष वेस्ट इन्डिजमा भारतले दोस्रो पटक टी ट्वेन्टी विश्वकप जितेपछि टी ट्वेन्टी अन्तर्राष्ट्रियबाट सन्न्यास लिएका थिए । अहिले भारतमा जारी आईपीएलमा कोहलीले ११ खेलमा ५०५ रन बनाएर ब्याटिङ टेबलको चौथो स्थानमा छन् । उनी ओरेन्ज क्यापको दाबेदार खेलाडी समेत हुन् ।