सुदूरपश्चिमका मुख्यमन्त्री स्वदेश फिर्ता, योगी आदित्यनाथसँग विकास आयोजनाबारे छलफल

वैशाख २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिमका मुख्यमन्त्री स्वदेश फिर्ता, योगी आदित्यनाथसँग विकास आयोजनाबारे छलफल

कैलाली । साताव्यापी भारत भ्रमण सकेर सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आज स्वदेश फर्किनुभएको छ । गत वैशाख १६ गते भारत भ्रमणमा गएको मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली आज अपराह्न ४ बजे लखनऊ हुँदै स्थलमार्गबाट स्वदेश फर्किएको हो ।

मुख्यमन्त्री शाहले भ्रमणका क्रममा प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनबारे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई जानकारी गराउनुभएको थियो । यस्तै, आधुनिक कृषि खेती, ऊर्जा क्षेत्रको विकास, पर्यटन प्रवर्द्धन, धार्मिक मानसखण्ड सर्किटको निर्माण, आध्यात्मिक टुरिजम, धार्मिक टुरिजम, ओएलनेस टुरिजम, इको टुरिजम लगायतका पर्यटन क्षेत्रको विकास र विस्तार तथा दुई देशबीचको कनेक्टिभिटीका सन्दर्भमा दुई पक्षबीच कुराकानी भएको थियो । 

मुख्यमन्त्री आदित्यनाथसँगको भेटमा मुख्यमन्त्री शाहले पश्चिम सेती जलविद्युत् आयोजनाको डीपीआरको काम अन्तिम चरणमा पुगेको र आर्थिक अभावले अगाडि बढ्न नसकेको अवस्था भारत सरकारको सहयोगले अन्तिम रूप दिन तथा पञ्चेश्वर जलविद्युत् आयोजना, वेतन कर्णाली, फुकोट कर्णाली र मुगु कर्णालीको सम्भावना अध्ययन प्रतिवेदनका विषयमा सहयोग गर्न आग्रह गर्नुभयो ।

यसैगरी दार्चुलामा निर्माणाधीन पुल छिटोभन्दा छिटो निर्माण गर्न, बैतडी र डडेल्धुरामा पुल निर्माण प्रक्रिया चाँडो सुरु गर्न पनि उहाँले आदित्यनाथसमक्ष आग्रह गर्नुभयो । दुवै देशका नागरिक शिक्षा र रोजगारीका लागि एकअर्को देश जाने भएकाले उनीहरूको सुरक्षाका लागि सीमा क्षेत्रमा तथ्यांक संकलन गर्ने र सीमामा एकीकृत भन्सार जाँच पास राख्नेबारे पनि उहाँहरूबीच छलफल भएको थियो । 

साथै, तिकुनियाँ-खक्रौलासम्मको सडकखण्डका साथै पलियाँ–गौरिफन्टा सडकखण्ड छिटो विस्तार र सम्पन्न गर्ने मुख्यमन्त्री योगीले बताउनुभएको थियो ।

नेपाल संघीय संरचनामा गइसकेपछि भएको यो पहिलो मुख्यमन्त्रीस्तरीय ‍औपचारिक भ्रमण हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.