काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्तिमा समस्या नभएको स्पष्ट पार्नुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नुपर्ने नीति’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याको कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई दिने पक्षमा रहेको समेत बताउनुभयो । उहाँले सत्ता गठबन्धमा समेत कुनै समस्या नभएको दाबी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ । हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी छ तर बहुमत छैन । त्यस कारण कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने जरुरी छ । अहिले एमालेका नेता केपी ओलीसँग हाम्रो गठबन्धन छ । उहाँले गठबन्धमा कुनै पनि समस्या ‘क्रिएट’ गर्नुभएको नि छैन । गठबन्धनमा कुनै समस्या छैन । राष्ट्र बैंकको गभर्नरको सम्बन्धमा उहाँले ल्याएको समस्या चाहिँ होइन । राष्ट्र बैंकभित्रै आएको समस्या हो । उहाँ गभर्नर कांग्रेसलाई दिने पक्षमै हुनुहुन्छ । उहाँले त्यसमा गाह्रो गर्नुभएको छैन । सहयोग नै गर्नुभएको छ ।”