सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषाको सीमामा अवस्थित कमला नदीको अस्थायी काठेपुल बाढीले बगाएको छ । सिरहा नगरपालिका-६ स्थित कमलामा रहेको काठेपुल मंगलबार बिहान आएको बाढीले बगाइदिएको हो ।
यसका कारण हुलाकी राजमार्गमा आवागमन नै ठप्प भएको छ । पैदलयात्रीहरू भने पुल छेउमा रहेको भर्याङबाट जसोतसो जोखिम मोल्दै आवातजावत गरिरहेको वडाध्यक्ष ईन्द्रजितकुमार यादवले बताउनुभयो । नदीमा पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्ने उहाँको भनाइ छ । “अहिले बाढी छ, पानी कम भएपछि के गर्ने भन्ने विषयमा सोच्छौं”, उहाँले भन्नुभयो, “यस्तै रहन त दिँदैनौं ।”
यो अस्थायी काठेपुल नगरपालिकाले ६ महिनाअघि करिब २ लाख रुपैयाँ खर्चेर निर्माण गरेको थियो । कमला नदीमा १३ वर्षअघि नै पुल निर्माण थालिए पनि अझै सम्पन्न भएको छैन ।
४६९.२ मिटर लामो पुलको काम २०६८ जेठ ३१ बाटै सुरु भएको थियो । तर, पटकपटक म्याद थप भएर १० वर्षमा निर्माणको अन्तिम चरणमा पुगेको यो पुल २०७८ असार १७ मा सामान्य बाढी थेग्न नसकी भासिएको थियो ।
पुल भासिएपछि पुनःनिर्माण थालिए पनि अहिलेसम्म पुलको दुवैतर्फ पाया मात्र ठड्याइएको छ ।