काठमाडौं । संसद्को लेखा समिति अन्तर्गतको उपसमितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन समितिमा बुझाएको छ । प्रतिवेदनसँगै उपसमितिका सदस्यहरुले फरक मत समेत समितामा बुझाएका छन् ।
समितिले निर्माण लागत अनुमानदेखि निर्माणका विभिन्न चरणमा अनियमिता भएको प्रतिवेदनमा उल्लेख गरेको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको देखिएको भनिए पनि सम्वन्धित निकायले नै यसमाथि अनुसन्धान गर्ने संयोजक राजेन्द्र लिङदेनले बताउनुभयो ।
प्रक्रियागत रुपमा कमजोरी रहेको सम्वन्धित व्यक्तिहरुसँग छलफल नगरिएको लगायतका विषयमा आफूहरुको चासो रहेको भन्दै प्रतिवेदनमा एमाले सांसदले फरक मत राख्नुभएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न २४ अर्ब रुपैयाँ खर्च भएको थियो । यो विमानस्थल २०७९ साल पुसमा निर्माण सम्पन्न भएर उद्घाटन गरिएको थियो । लिङ्देन नेतृत्वको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल छानबिन गर्न गठित उपसमितिमा अर्जुननरसिंह केसी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, अमनलाल मोदी, प्रेमबहादुर आले, तारा लामा, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, रामकृष्ण यादव सदस्य छन् ।
भैरहवा विमानस्थलको अध्ययन गर्न गठित उपसमितिले भने प्रतिवेदन अझै बुझाएको छैन । एमाले सांसद योगेश भट्टराई नेतृत्वको यो उपसमितिमा सांसदहरु अमरेशकुमार सिंह, मनिष झा, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँड र सराज अहमद फारुकी सदस्य छन् । ३० अर्ब रुपैयाँको लगानीमा बनेको भैरहवा विमानस्थल २०७९ साल जेठमा निर्माण सम्पन्न भएर उद्घाटन भएको थियो ।
राज्यकोषको अर्बौं लगानी भएको तर प्रतिफल दिन नसकेपछि संसदको लेखा समितिले दुवै विमानस्थलको अध्ययन-अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन दुई छुट्टाछुट्टै उपसमिति गठन गरेको थियो ।