रोल्पा । रोल्पाको शहीदमार्ग सडक अन्तर्गत त्रिवेणी गाउँपालिका–२ नुवागाउँमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जनाको अवस्था गम्भीर छ ।
दाङको घोराहीबाट सिमेन्ट लिएर रोल्पाको थबाङतर्फ जाँदै गरेको ना१क ६९६८ नम्बरको टेलर आज बिहान सडकबाट भोम्ले खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा दाङ घोराही उप–महानगरपालिका–११ हापुरका २९ वर्षीय सहचालक आयुष गिरीको मृत्यु भएको छ भने चालक रोल्पाको परिर्वतन गाउँपालिका–२ का ३० वर्षीय कृष्णप्रसाद डाँगी गम्भीर घाइते हुनुभएको छ ।
घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिनुभयो ।