हावाहुरी र आगलागीबाट ताप्लेजुङमा एक घाइते, ठाउँ ठाउँका घरमा क्षति

वैशाख १५, २०८२ |आनन्द गौतम
हावाहुरी र आगलागीबाट ताप्लेजुङमा एक घाइते, ठाउँ ठाउँका घरमा क्षति

ताप्लेजुङ । हावा हुण्डरी र आगलागीबाट ताप्लेजुङका विभिन्न ठाउँका घर गोठ उडाउनुका साथै जलेका छन् । फक्ताङलुङ गाउँपालिका- ३ लिङ्खिमका काजीबहादुर लिम्बू घाइते हुनुभएको छ । अलैँचीमा पानी लगाउने क्रममा एक्कासि चलेको हावाहुरी र हुण्डरीले लडाएको ढुङ्गाले उहाँको टाउकोमा लागेको थियो । 

उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएका लिम्बूको टाउकोमा १२ टाँका लगाउनु परेको अस्पतालले जनाएको छ ।

यस्तै आठराई त्रिवेणी गाउँपालिका- २ चोकपुरको नाबु सामुदायिक वनमा लागेको आगोले अम्बरबहादुर तामाङको घर जलाएको छ । आगलागीबाट मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हावाहुरीपछि भएको वर्षाले आगो भने निभाएको स्थानीयले बताएका छन् । हावाहुरीले घर पल्टाउँदा मिक्वाखोला गाउँपालिका- २ वैराखुका विनोद शेर्पा विस्थापित हुनुभएको छ । हावाहुरीले घरै पल्टाइदिएर ८ फिट पर पुर्‍याएको प्रहरी चौकी खोक्लिङका प्रहरी सहायक निरीक्षक सुरेशकुमार सिँजालीले जानकारी दिनुभयो । उहाँहरू कुमार शेर्पाको घरमा बस्नुभएको छ । पाँच लाखभन्दा बढीको क्षति भएको अनुमान प्रहरीको छ ।

यसैगरी फुङलिङ नगरपालिका- १० फुरुम्बुमा हावाहुरीले मयमका मानबहादुर लिम्बूको घरको छाना उडाएको छ भने धनबहादुर लिम्बूको भान्सा घर र सुरबहादुर खत्रीको गाई ग्वालीको छाना उडाएको वडाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिनुभयो । 

फुङलिङ नगरपालिका- ८ दोखुका जसबहादुर विश्वकर्माको मतानको छाना उडाएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । आइतबार दिउँसोदेखि चलेको हावाहुरी राति अबेरसम्म चलेको थियो । रातिसम्म विद्युत् सेवामा समेत अवरोध पुर्‍याएको थियो । सोमबार बिहानैदेखि विद्युत् भने नियमित भएको छ ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।