सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरिएपछि व्यवसायीहरू उत्साहित

वैशाख १५, २०८२ |कमला पाख्रिन
सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरिएपछि व्यवसायीहरू उत्साहित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोगकढी नगरपालिकाले सुकुटेलाई औपचारिकरूपमा पर्यटकीय क्षेत्र घोषणा गरेपछि व्यवसायीहरू उत्साहित भएका छन् । घोषणासँगै पर्यटन पूर्वाधार निर्माण, प्रचारप्रसार तथा सुरक्षा व्यवस्था सुधारमा पनि सरकारले विशेष ध्यान दिने अपेक्षा गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले सुकुटेलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । घोषणासँगै स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने, रोजगारीको अवसर सिर्जना हुने र सुकुटे कोरिडोर क्षेत्रको पूर्वाधार विकास हुने अपेक्षा गरिएको छ ।

सुकुटे हालका वर्षहरूमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक केन्द्र बन्दै आएको छ । विशेषगरी बोटिङ, र्‍याफ्टिङ, रिसोर्ट, क्याम्पिङ, र प्राकृतिक सौन्दर्यको कारण यहाँको पर्यटन गतिविधि तीव्ररूपमा बढ्दै गएको छ । पर्यटकीय क्षेत्रको मान्यता पाएसँगै व्यवसायीहरू अब थप लगानी र सेवा विस्तारमा जुट्न थालेका छन् ।

पर्यटकीय क्षेत्र घोषणा भएपछि सुकुटे मात्र नभएर जिल्लाभरकै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान हुने विश्वास लिइएको छ । प्राकृतिक सुन्दरता र साहसिक पर्यटनको केन्द्रमा रहेको सुकुटेकमा नदी संरक्षण र पर्यटनलाई व्यवस्थित गर्न करिडोर हरियाली र्‍याफ्टिङ जोनको रूपमा विकास गर्ने र जुगल हिमालको प्रवेशद्वारका रूपमा सुकुटे क्षेत्रलाई प्रवर्द्धन योजना पनि अगाडि सारिएका छन् ।

पर्यटकीय क्षेत्र घोषणाले स्थानीय व्यवसायी, समुदाय तथा पर्यटन प्रवर्द्धनमा सरोकारवालालाई आशा जगाएको छ । अब यो घोषणालाई व्यवहारमा उतार्न दीर्घकालीन योजनासहितको कार्यान्वयन अपरिहार्य देखिन्छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।