काठमाडौं । आख्यानकार ध्रुवचन्द्र गौतमलाई १ लाख रुपैयाँ नगद राशिको ‘राष्ट्रिय लेखक पुरस्कार २०८२’ प्रदान गरिने भएको छ । राष्ट्रिय लेखक दिवसको अवसरमा नेपाली लेखक संघले गौतमलाई नगदसहित सम्मान गर्न लागेको हो ।
८२ वर्षका ध्रुवचन्द्र गौतमले २०४० सालमा 'अलिखित' उपन्यासका लागि मदन पुरस्कार पाउनु भएको थियो । नेपाली साहित्यमा ६ दशक अघिदेखि सक्रिय गौतमका आख्यानका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
वैशाख १६ गते लेखक दिवसका अवसरमा संघले गौतमलाई सम्मान गर्ने लेखक संघका महासचिव सोझो गाउँलेले जानकारी दिनुभयो । कार्यक्रममा दुई दर्जनभन्दा बढी स्रष्टालाई सम्मान गरिनेछ ।
राणा कालमा काठमाडौंका लेखक तथा बुद्धिजीवीले पुस्तकालय स्थापना गर्न खोज्दा प्रधानमन्त्री भीम शमशेरले दण्डित गरेको घटना पुस्तकालय पर्वका नामले चिनिन्छ । त्यो घटना घटेको दिन वैशाख १६ गतेलाई नेपाली लेखक संघले लेखक दिवसका रुपमा मनाउँदै आएको छ ।