निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरीबीच झडप

वैशाख १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
निषेधित क्षेत्र तोड्न खोजेपछि शिक्षक र प्रहरीबीच झडप

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरूले बिजुलीबजार-नयाँ बानेश्वर सडकमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए भने भीड तितरबितर पार्न प्रहरीले पानीका फोहोरा प्रयोग गरेको थियो । झडपका क्रममा केही शिक्षक घाइते पनि भएको बताइएको छ । 

चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूले आज २६ औं दिन पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । शिक्षक महासंघका प्रतिनिधिसँग हिजो शनिबार भएको वार्तामा पेशागत मागका बारेमा सकारात्मक भएको र सहमति भएका विषय मन्त्रिपरिषद्‌बाट पारित गर्ने प्रतिबद्धता शिक्षामन्त्रीले जनाउनुभएको बताइएको छ । 

तर, शिक्षकहरूले भने आफूहरू मन्त्रिपरिषद्को निर्णय नआउन्जेल आश्वस्त नभएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने जनाएका हुन् । शिक्षकहरूको आन्दोनलका कारण कक्षा १२ को परीक्षा, भर्ना अभियान र विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.