बर्दिया । आर्कषक रोजगारी दिने प्रलोभन देखाई बर्दियाबाट कुवेत पठाइएका महिलाले चरम यातना पाएका छन् । श्रम स्वीकृतिबिनै कुवेत पठाइएका महिलामाथि कुटपिट, जबरजस्ती यौन व्यवसाय गर्न बाध्य पारिएको तथा पारिश्रमिक नदिने गरेको तथ्य फेला परेको छ । कुवेतमा बन्धक बनाएर राखिएका महिलालाई स्थानीय प्रशासनको सहयोगमा उद्धार गरेर स्वदेश फर्काइएपछि उनीहरुले त्यहाँ पाएको यातनाबारे बोलेका हुन् ।
बर्दियाको बढैयाताल गाउँपालिका-६ कि ३६ वर्षीया रेखा विकका श्रीमान् लालबहादुरको दुई वर्षअघि मृत्यु भयो । तीन छोरी र एक छोराकी आमा रेखा सुकुम्बासी हुनुहुन्छ । जीवन गुजाराका लागि उहाँ गुलरियामा रहेको एउटा कपडा पसलमा काम गर्नुहुन्थ्यो ।
त्यसैक्रममा मधुवन नगरपालिका-९ तारातालका गोपाल परियार नाम गरेका ऐजेन्टले कुवेतमा राम्रो आम्दानी हुने काममा पठाइदिने भनेर ललाइफकाइ गरे । पैसा लाग्दैनलग्ने, पासपोर्टसमेत आफैंले बनाइदिने भनेर गोपालले फकाएपछि रेखा पनि लोभिनुभयो । रेखासँगै २४ जना महिलालाई त्यही एजेन्टले दिल्ली हुँदै गत भदौमा दुबई पुर्याए ।
दुबईमा नेपालसँगै श्रीलंका, भारत, बंगलादेशका ५० जना महिलालाई एउटै हलमा राखियो । ९ दिन त्यहाँ राखेपछि उनीहरुलाई कुवेत पुर्याइयो । कुवेत पुग्दा त्यहाँका साहुले ३ लाखमा किनेको बताएपछि रेखा छाँगाबाट खसेझैं हुनुभयो । रेखाले आफूले पाएको यातनाबारे सुनाउनु भयो, 'साहुले अनैतिक काम गर्न भनेको नमानेपछि तातो पानी खन्याइदिए ।'
मधुवन नगरपालिका-८ कि अर्की पीडित विष्णु महतारा कुवेतमा खानसमेत नपाएको बताउनुहुन्छ । उहाँलाई पनि स्थानीय प्रशासनको सहयोगमा २०८१ वैशाख ४ गते उद्धार गरी स्वेदश फर्काइएको हो ।
बर्दियाका धेरै महिला एजेन्टको प्रलोभनमा परेर विदेश जाँदा रेखा र विष्णुले जस्तै सास्ती बेहोर्न बाध्य छन् । साउनयता बर्दियाबाट विदेश पुगेका ४ जना महिलाको उद्धार गरिएको छ भने ३० जनाजति उद्धारको प्रक्रियामा छन् ।
ऐजेन्टले विपन्न परिवारका महिलालाई ललाइफकाइ विदेश लैजाने गरेका छन् । सबै खर्च बेहोरिदिने प्रलोभनमा परेका सोझासिधा महिला घरपरिवारलाई थाहा नदिई विदेश पुग्ने गरेका छन् । श्रम स्वीकृतिबिना भिजिट भिसामा भारतको दिल्ली हुँदै दुबई पुर्याएर दलालहरुले गन्तव्य मुलुकसम्म लैजाने गरेका छन् । यसैबीच, बर्दिया प्रशासनले विदेश पठाउने एजेन्टहरु गोपाल परियार, तारा पराजुली र गौरी जुल्मी मगरमाथि अनुसन्धान शुरु गरिएको जनाएको छ ।