सत्तारुढ दलहरुभित्रै सरकारलाई लिएर किन बढिरहेछ खटपटि ?

वैशाख १४, २०८२ |प्रकाश बम
सत्तारुढ दलहरुभित्रै सरकारलाई लिएर किन बढिरहेछ खटपटि ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु गठबन्धनमा तल-माथि नहुने अभिव्यक्ति दिइरहेका छन् । दुवै दलका नेताले पटक-पटक भेट गरेर सार्वजनिक रुपमा भन्ने गरेका छन्- 'सरकार ठीकठाकसँग चलिरहेको छ, सरकार ढल्ने हल्ला गलत हो।' तर, सत्ता साझेदार दलकै नेताका अभिव्यक्तिले गठबन्धन दलबीच असमझदारी र अविश्वास रहेको संकेत गर्छन् । खासगरी नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीले नै सत्तारुढ दलबीच समस्या रहेको बताइरहेका छन् ।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पटक-पटक गठबन्धनमा तलमाथि नहुने अभिव्यक्ति दिइरहेका छन् । देउवा थाइल्यान्डबाट फर्किएलगत्तै फोन सम्वाद गरेका दुई नेता शनिबार साँझ भेट नै भयो । दुईले एकअर्कोलाई सरकार फेरबदल नहुनेमा आश्वस्त पारे । तर, देउवा-ओली भेटको केही घण्टा नबित्दै कांग्रेसकै प्रवक्ता प्रकाशशरण महतले सरकारको आलोचना गर्नुभयो ।

गठबन्धनको भविष्यका बारेमा अनेक संशय भइरहेका बेला शीर्ष नेता कुनै समस्या नभएको सन्देश प्रवाह गर्न व्यस्त छन् । तर, ठीक विपरीत, सत्तारुढ पार्टीका नेताहरु भने ठीक छैन भनिरहेका छन् । खासगरी, नेपाली कांग्रेसका जिम्मेवार पदाधिकारी नै यस्तो अभिव्यक्ति दिइरहेका छन् । कांग्रेस महामन्त्री गगन थापाको भनाइ छ- सरकारको गति भएन हामी फोहोरमा मिसिन आएको होइन, फोहोर सफा गर्न आएको हो ।

प्रधानमन्त्री ओलीले त हरेक कार्यक्रममा सरकार नढल्ने र अबको १५ महिनापछि आफैं राजीनामा दिने बताउँदै आउनुभएको छ । सरकारका बारेमा अनावश्यक हल्ला फैलाइएको र गठबन्धनमा कुनै समस्या नरहेको भन्दै आश्वस्त पार्ने प्रयास उहाँको हुने गरेको छ ।

विशेषगरी सरकारको आयुलाई लिएर अनेक टीकाटिप्पणी भइरहेका बेला कांग्रेस सभापति देउवा थाइल्यान्ड जानु, देउवा फर्किएपछि समीकरण बदलिन सक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको टिप्पणी र कांग्रेसभित्रै सरकारप्रतिको आलोचना भइरहेकाले पनि वर्तमान गठबन्धनको भविष्यप्रति संशय उठेका थिए ।जसलाई मत्थर पार्न दुवै दलका शीर्ष नेताले बल लगाइरहेका छन् । कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि सरकार ढल्दैन, ढल्दै-ढल्दैन भनेर प्रतिरक्षा गरिरहेका छन् ।

शीर्ष नेताका एउटा कुरा, तर पार्टीका नेताहरु किन फरक कुरा गरिरहेका छन् ? राजनीतिक विश्लेषकहरु भन्छन्- ठूलो भिन्नताका बीच पनि दुई दल सँगै अघि बढ्नुपर्ने अवस्थाले पनि यस्तो भइरहेको छ । सरकार गठन भएका बेला गरिएका वाचा पूरा गर्न नसक्दा र अहिले देखिएका समस्या समाधानमा एकमत नभएका कारण पनि समस्या भएको विश्लेषक गेजा शर्मा वाग्ले बताउनु हुन्छ । 

दुई दलबीचको आपसी आशंका सरकार गठनदेखि छँदै थियो । त्यसमाथि पछिल्लो समय महत्वपूर्ण पदहरुमा नियुक्तिका विषयमा भएको मतभेद बढ्दै गएर अविश्वासको तहसम्म पुगेको बुझ्न कठिन छैन । राजनीतिक स्थायीत्व र सुशासनको एजेन्डासहित सहकार्य गरेका दुई ठूला दल नागरिकका मुद्दा भन्दा सरकार ढल्छ र ढल्दैनमै दौडिरहनु ठीक होइन ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।