
काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सरकार तयार भए राष्ट्रिय सभाबाट विधेयकहरू पारित गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उहाँहरूले यस्तो बताउनुभएको हो । बैठकमा राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले सरकार तयार भए सभाबाट समितिमा आएका विधेयकहरूलाई छलफल गरेर टुङ्याउन सकिने बताउनु भयो ।
सरकारले संसद्मा विधेयकहरू ल्याइरहेको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सभा सञ्चालनको लागि सरकारले वातावरण बनाउनपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय सभाबाट पारित भएर गएका विधेयकहरूको समयसीमा नहुने हुँदा प्रतिनिधि सभा सुरू हुन बित्तिकै त्यहाँ छलफल गर्नेगरी तयारीमा राख्नसक्ने उल्लेख गर्नुभयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा भाषण गर्नको लागि मात्रै सञ्चालन गर्न नहुने बताउनु भयो । उहाँले सभा सञ्चालनको लागि सरकारले बिजनेस दिनुपर्ने बताउनु भयो । उहाँले सभा सञ्चालन गर्नुभन्दा पहिले पूरा तयारी गर्नुपर्ने बताउनु भयो । उहाँले सभा चलेको १५ दिनमा अन्त्य हुने अवस्था आए राम्रो नहुने बताउनु भयो ।
बैठकमा सहभागी सबै सदस्यहरूले सरकारसँग समन्वय गरेर राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सांसदहरूले सभा सञ्चालन गरे पनि सरकारले बिजनेस नदिनेतर्फ आशंका समेत व्यक्त गरेका छन् ।