
मुस्ताङ । कार्यालय उद्घाटन भएको एक वर्षपछि मुस्ताङको कोरला नाकाबाट अध्यागमन सेवा सुरू भएको छ ।
लोमान्थाङ गाउँपालिका-१ नेचुङमा पर्ने नेपाल-चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकाबाट अध्यागमन सेवा औपचारिक रूपमा सुरू भएको हो । शनिबार यो नाकाबाट ल्होमान्थाङ र लोघेकर-दामोदरकुण्ड गाउँपालिका अध्यक्ष, उपाध्यक्षसमेत १३ जना नेपाली मानसरोवर यात्रामा निस्किएका छन् ।
कोरला नाका तिब्बतको सिगात्सेबाट आएको 'चाइना नेसनल हाइवे २ सय १९' सँग जोडिएको छ । कोरला भन्सार कार्यालयको ०८१ कात्तिक १४ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरे पनि सेवा सुरू हुन सकेको थिएन । अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण हाल ल्होमान्थाङ इलाका प्रशासन कार्यालयबाट अध्यागमन सेवा सुरू गरिएकाे छ ।
त्यस्तै तिब्बततर्फ पनि चिनियाँ अध्यागमन कार्यालयले राहदानी र भिसा जारी गर्न थालेको छ । लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टशीनर्वु गुरूङले कोरला नाका प्रयोगगरी ल्हासा र मानसरोवर पुग्ने पर्यटन मार्ग प्रर्वद्धन गर्ने, सांस्कृतिक सम्बन्ध स्थापित गर्ने, र आर्थिक समृद्धिको नयाँ आयाम खोज्ने उद्देश्यले निजी खर्चमा ल्हासा-कैलास मानसरोवर यात्रामा निक्लेको बताउनुभएको छ । नेपाली टोलीलाई यात्राका लागि चिनियाँ सहायक जिल्ला अधिकारीको टोलीले समन्वय गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । सरकारले माथिल्लो मुस्ताङ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हुनाले सो क्षेत्रमा प्रवेश गर्दा वा पदयात्रा गर्दा पहिलो १० दिनको लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ ।
नेपाल सरकारले चिनियाँ पर्यटकलाई एक भिसा वर्षमा १ सय ५० दिन निःशुल्क उपलब्ध गराउँदै आएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्दा चिनियाँ नागरिकले पनि ५ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्छ । कोरला नाकाबाट गत भदौ २२ गतेबाट औपचारिकरूपमा भन्सार पनि सञ्चालनमा आएको थियो । भन्सार सञ्चालन भएको दुई महिनामै ३ अर्बभन्दा धेरै राजश्व संकलन भएको छ ।