
राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एनआइसीयुमा सर्टसर्किट हुँदा एक शिशु घाइते भएका छन् ।
शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेन-जी समुहका युवाहरूले केहीबेर अघि निमित्त मेसु डा. दिलिप साहमाथि हातपात गरेका हुन् । आइतबार साँझ एनआइसीयु वार्डको विद्युतीय बल्ब सर्टसर्किट भएर झर्दा अस्पतालमा जन्मिएका रूपनी गाउँपालिकास्थित हर्दियाकी रेखा यादवको बालकमाथि लागेको थियो ।
त्यसपछि आक्रोशित हुँदै आएका समुहमध्येका एकजनाले डा. साहमाथि हातपात गरेको हो । बालकलाई तुरून्तै थप उपचारको लागि धरान पठाइएको छ । सर्टसर्किटपछि आफू एनआइसीयुमा अनुगमन गरिरहेको बखत अचानक आएका उनीहरूले हातपात गरेको निमित मेसु साहले बताउनुभयो ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बर बहादुर पुरीले घटनास्थलमा प्रहरी परिचालन गर्दै स्थिति अशान्त हुन नदिन प्रयास भइरहेको जानकारी दिनुभयो । तर, हातपात गर्नेलाई पक्राउ नगरिएसम्म अस्पतालका चिकित्सकहरूले इमर्जेन्सी सेवासमेत बन्द गरेर धर्ना दिन बाध्य हुने अस्पताल प्रशासनले जनाएको छ।
उता घाइते नजवात शिशुका परिवारजन र जेन-जी उमेर समूहका युवाहरूको भीड पनि अस्पतालमा यथावत् छ। उनीहरूले अस्पतालको यत्रो दुरावस्था हुँदा पनि अस्पताल प्रशासन र सरकार मुकदर्शक बसेको भन्दै नाराबाजी गरिरहेका छन्। स्थानीय प्रशासनले स्थिति थप ब्रिग्रिन नदिन सहजिकरणसमेत गरिरहेको छ।