
काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले अर्थमन्त्रालयले सांसदहरूको स्वकीय सचिव, पूर्वपदाधिकारीहरूको सुविधाहरू फिर्ता गर्न निरन्तर दबाब दिइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा उहाँले यस्तो बताउनुभएकाे हो । सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको स्वकीय सचिवहरू हटाइएकोले यसले असहज स्थिति सिर्जना गराएको उहाँले बताउनु भयो ।
राष्ट्रिय सभाका उपाध्यक्ष र प्रतिनिधि सभाका उपसभामुखलाई समेतलाई यस निर्णयले असहज बनाएको उहाँको भनाइ छ । उहाँकाअनुसार अर्थ मन्त्रालयले बारम्बार मौखिक रूपमा पूर्वपदाधिकारीहरूले पाएका सुविधा फिर्ता भए वा नभएको विवरण मागिरहेको छ । उहाँले हाल राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्ष नभएकोले ती दलले पाउने अतिरिक्त सुविद्या कटौती गर्न पनि दबाब आइरहेको उहाँले जानकारी दिनुभयो ।
संसद् सचिवालयले सुविधाहरू सकेसम्म प्रदान गर्नेमा सकरात्मक रहेको उहाँकाे भनाइ छ । यद्यपि कतिपय कानूनी बन्धनहरू र सरकारले गरेका निर्णयहरू स्वभाविक रूपमा पालना गर्नुपर्ने भएकोले केही अफ्ठ्यारा परिस्थितिहरू सिर्जना भएको उहाँको भनाइ छ ।