भक्तपुर । चाँगुनारायण नगरपालिकामा अवैध रूपमा माटो, बालुवा उत्खनन तथा ओसारपसार हुने गरेको पाइएको छ । नगरपालिकाले रोक लगाए पनि तस्करहरूले लुकिछिपी माटो, बालुवा उत्खनन तथा ओसारपसार गर्ने गरेका छन् ।
नगरपालिकाको दुवाकोटस्थित स्याल डाँडामा डाँडा नै सोहोरेर माटो र बालुवा उत्खनन भएको छ । उक्त सन्दर्भमा सामाजिक सञ्जालमा नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी र वडा अध्यक्ष सिजन कार्की समेतको आलोचना भएपछि आइतबार उपप्रमुख बुढाथोकीको नेतृत्वमा अनुगमन गरी दुई वटा एक्सकाभेटर नियन्त्रणमा लिइएको छ । आज पुनः नगरपालिकाबाट अनुगमन गरी उक्त स्थानमा के कति माटो तथा बालुवा निकालियो भनेर छानबिन गरिने र तस्करलाई कारबाही गरिने बुढाथोकीले बताउनुभयो ।
प्रशासन र प्रहरीलाई माटो र बालुवा तस्करी रोक्न पत्र पठाए पनि कारबाही नभएको उहाँले गुनासो गर्नुभयो ।
नगर कार्यपालिकाको गत चैत २० गतेको निर्णयले घडेरी सम्याउन ४ आनाका लागि मात्र माटो निकाल्न स्वीकृति दिने भनेकामा रातिराति एक्सकाभेटर प्रयोग गरी तस्करी हुने गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । जग्गा प्लटिङ गर्नेले नै माटो तथा बालुवा उत्खनन गरेको उहाँको आरोप थियो ।
केही साता अगाडि पनि यसै नगरपालिकाको ९ नम्बर वडास्थित ताथलीको काठमाडौं क्यान्सर सेन्टरको गेट प्रयोग गरी क्यान्सर सेन्टर पछाडिको थुम्को सम्याएर माटो तथा बालुवा तस्करी भएको थियो । त्यसपछि उपप्रमुख बुढाथोकीले क्यान्सर सेन्टरको गेटमै ताला लगाउनुभएको थियो ।