पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–४, खानीछापको मलेङ बेलडाँडामा गए राति भएको लु१ज १७२४ नम्बरको यात्रुवाहक जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तानसेनबाट चापपानी हुँदै खानीछाप जाने क्रममा उकालोमा गाडी पछाडि हटेर भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका–१ वैघाकी १७ वर्षीया एलिजा सारूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
स्थानीयका अनुसार सडकमै पल्टिएको जीपले च्यापिएर सारूको मृत्यु भएको थियो । दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली गाउँपालिका- ४ कि ३५ वर्षीय नीता दर्लामीको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।