एभियोट्रेस स्कुल अफ टेक्नोलोजी विरुद्ध पाटन उच्च अदालतमा रिट दर्ता

चैत्र ३१, २०८१ |किरण पौडेल
एभियोट्रेस स्कुल अफ टेक्नोलोजी विरुद्ध पाटन उच्च अदालतमा रिट दर्ता

काठमाडौं । सात वर्षदेखि बिनादर्ता सञ्चालनमा रहेको ‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध पाटन उच्च अदालतमा परमादेशको माग सहित रिट दर्ता भएको छ । काठमाडौं विश्वविद्यालय ‘स्कुल अफ ल’मा कानुनमा स्नातक तहमा अध्ययनत आयुश बडाल ,सुजन बास्तोला र दीक्षित पोखरेल लगायतले आइतबार पाटन उच्च अदालतमा सार्वजनिक सरोकार अन्तर्गतको रिट दर्ता गराएका हुन् । 

राज्यको कुनै पनि निकायबाट अनुमति नलिई सञ्चालनमा रहेको र संविधानले सुनिश्चित गरेको शिक्षा सम्बन्धी हकको समेत हनन भएको रिटमा दाबी गरिएको छ । रिटमा कलेजको बदमासी र नियामकको फितलो नियमनका कारणले निर्दोष विद्यार्थीहरू पीडित भएकाले सरोकारवाला निकायले एक आपसमा समन्वय गरी अन्य शैक्षिक संस्थाबाट वैकल्पिक रूपमा परीक्षा लिएर वा कानुन बमोजिम अन्य प्रक्रिया पुर्‍याएर विद्यार्थीलाई समकक्षता प्रदान गर्न समेत माग गरिएको छ ।

साथै एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीका कारणले पीडित भएका विद्यार्थीहरूलाई उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

रिटमा नागरिक उड्डयन प्राधिकरण, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा काठमाडौं महानगरपालिकालाई समेत विपक्षी बनाइएको छ ।

एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजीले उड्डयन सम्बन्धी सबै खालका कोर्स पढाइ हुने भनी प्रचार गर्दै गैरकानुनी रूपमा बिनादर्ता सञ्चालनमा रहेको समाचार गत फागुन २२ मा कान्तिपुर टेलिभिजनले प्रसारण गरेको थियो । फागुन २२ गते विद्यार्थीको गुनासो सहितको समाचार कान्तिपुर टेलिभिजनमा प्रसारण भएपछि फागुन २८ गते काठमाडौं महानगरपालिकाले उक्त कलेजमा अनुगमन समेत गरेको थियो । अनुगमनमा क्रममा उक्त संस्थाले सरकारी निकायमा दर्ता भएका कुनै पनि कागजात पेश गर्न नसकेपछि महानगरले भर्ना तथा प्रशासनिक लगायतका कार्य नगर्न निर्देशन दिएको थियो । तर विद्यार्थीहरूले भने कलेजले वैशाख ३ गतेदेखि कलेज सञ्चालनको सूचना दिएको बताएका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।