रूसको उलान उदे सहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर महानगरमा

इगोर भन्नुहुन्छ : ललितपुरका मन्दिर मास्टर पीस छन
वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूसको उलान उदे सहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर महानगरमा

ललितपुर । ललितपुर महानगरसँग भगिनीसम्बन्ध कायम भएको रूसको उलान उदे सहरका नगर प्रमुख इगोर सुतेनकोभ ललितपुर आउनुभएको छ।

आफ्नो प्रतिनिधिमण्डलसहित नेपाल आएका उहाँलाई मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभयो ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनीसम्बन्ध कायम गर्न झण्डै डेढ महिना अघि उलान उदे सहर पुगेको स्मरण गर्दै दुई सहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने बताउनुभयाे । 

उलान उदे सहर र ललितपुर महानगरबीचको भगिनीसम्बन्ध महत्वपूर्ण उपलब्धि भएको बताउँदै दुई सहरबीचका जनताको समृद्धि र उन्नतिका लागि यो सम्बन्ध ऐतिहासिक भएको महर्जनले प्रष्ट पार्नुभयो।

महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाल एक पटक मात्रै आएर नपुग्ने बताउँदै नेपाल पटक-पटक आउन अनुरोध गर्नुभयो । प्रमुख महर्जनले सम्पूर्ण ललितपुर महानगरबासीको प्रतिनिधित्व गर्दै रूसको उदान उदे शहरका नगर प्रमुख र उहाँको प्रतिनिधिमण्डललाई ललितपुरमा स्वागत गर्न पाउँदा औधी खुशी लागेको बताउनुभयाे ।

विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथयात्राको पूर्व सन्ध्या भगिनीसम्बन्ध कायम भएको सहरका मित मेयर ललितपुर महानगर आउनु महत्वपूर्ण भएको उहाँले प्रष्ट पार्नुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले भगिनीसम्बन्ध कायम भएको खुशी व्यक्त गर्नुभयो। उलान उदे सहरमा नगर प्रमुख इगोर सुतेनकोभले रूस र नेपालबीचको सम्बन्ध धेरै पुरानो भएको बताउँदै ललितपुर र उलान उदे सहरबीचको भगिनी सम्बन्धले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग गर्ने बताउनुभयाे । 

विभिन्न विषयमा अध्ययनका लागि विद्यार्थी आदान-प्रदान कार्यक्रम निकै प्रभावकारी हुने उहाँले प्रष्ट पार्नुभयाे । ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले उलान उदे सहर र ललितपुर महानगरबीच धेरै क्षेत्रमा एकरूपता रहेको बताउनुभयाे । 

दुरीका दृष्टिले ललितपुर र उलान उदे टाढा भएपनि भावनात्मक रूपमा नजिक भएको उहाँले बताउनुभयाे । रातो मच्छिन्द्रनाथको रथ यात्राको पूर्वसन्ध्यामा ललितपुरले भगिनी सम्बन्ध गाँसेकोसहरको नगर प्रमुख र उहाँको प्रतिनिधिमण्डल नेपाल आइपुग्नु महत्वपूर्ण संयोग भएको उहाँले बताउनुयाे । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.