काठमाडौं । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरूरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलबारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।
सोमबार दर्ता गराएको पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहनुभएको छ ।
साे प्रस्तावमा आम जनता पार्टी-आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सीको पनि समर्थन छ ।
मंगलबारको सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाउनु भयो ।
उहाँले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा सरकार पानी र बुट बजार्ने काममा लागेको आरोप समेत लगाउनु भयो । प्रतिपक्षी दलहरूले राखेको प्रश्तावमाथि छलफल गर्न सभामुखले सरकारलाई रूलिङ गर्नुपर्ने उहाँको माग छ ।
विगत लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले वेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ ।