सुर्खेत-भुरीगाउँ–तेलपानी सडकमा पर्ने रानीघाट पुल डेढ दशकसम्म बनेन

चैत्र ३०, २०८१ |कमल पन्त
सुर्खेत-भुरीगाउँ–तेलपानी सडकमा पर्ने रानीघाट पुल डेढ दशकसम्म बनेन

सुर्खेत । कर्णाली, लुम्बिनी र सुदरपश्चिम प्रदेशलाई जोड्ने रणनीतिक सडक हो सुर्खेत-भुरीगाउँ तेलपानी सडक । अहिले पनि अधुरै रहेको यही सडकखण्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर-२ रानीघाटमा पक्की पुल निर्माणको चर्चा भएको डेढ दशक भइसक्यो । २०६९ सालमा भेरी नदीमाथि पुल बनाउन ठेक्का लाग्यो तर अहिलेसम्म रानीघाटमा पुल बन्न सकेको छैन ।

सुर्खेत क्षेत्र नं. २ र बराहताल गाउँपालिकाका उम्मेदवारले आफ्नो चुनावी घोषणापत्रमा कहिले नछुट्ने आयोजना हो रानीघाटको पुल निर्माण । कर्णाली, लुम्बिनी र सुदरपश्चिम प्रदेशलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण चुनाव जिताए रानीघाटको पुल निर्माण गर्ने र पश्चिम सुर्खेतमा विकासको लहर ल्याउने बाचा गर्छन् । तर डेढ दशकयताका हरेक उम्मेदवारले रानीघाटमा पक्की पुल बनाउँछु भनेर गर्दै आएको बाचा भने अझै पूरा हुन सकेको छैन ।

बर्दिया राष्ट्रिय निकुञ्जको कानुनी जटिलता र रानीघाटमा पुल नबनेकै कारण भुरीगाउँ तेलपानी सडकखण्डले पूर्णता पाउन सकेको छैन । बर्दियाको भुरीगाउँबाट तेलपानी, लेखगाउँ, मग्रा, रानीघाट, श्रीचौर, पाग्म, डाँडापानी, सुागुरखाल, ज्यामिरेसम्म सडक पुगेको छ । तर रानीघाटमा पुल नभएकै कारण स्थानीयलाई वीरेन्द्रनगर आउजाउ गर्न र उत्पादित बस्तु बजारसम्म लैजान समस्या छ । निर्वाचनका बेला विकासको आस देखाउनेहरूले नै चुनाव जितेपछि पुल बनाउनका लागि प्रभावकारी पहल नगरेको भन्दै स्थानीय निराश छन् ।

पुलको डिजाइनमै गल्ती देखिएको भन्दै निर्माण अलपत्र पारेको ठेकेदारसँग सडक डिभिजन कार्यालयले ठेक्का नै तोडिसकेको छ । ठेक्का तोडेपछि ठेकेदार कम्पनी अदालत गएको छ । हाल मुद्दा विचाराधीन अवस्थामा रहेको कारण पुल निर्माणको नयाँ ठेक्का प्रक्रिया समेत अगाडि बढ्न सकेको छैन ।

रानीघाटमा भेरी नदीमाथि ४२ महिनाभित्र पुल बनाउन २०६९ साल असार २९ गते पप्पु मल्ल जेभीले १४ करोड २९ लाख रुपैयाँमा सडक डिभिजन कार्यालय सुर्खेतसँग ठेक्का लिएको थियो । ४ करोड ३८ लाख २२ हजार रुपैयाँ भुक्तानी लिएर पनि प्राविधिक समस्या देखाउँदै लामो समयसम्म पुल नबनाएपछि २०७९ असार २० गते ८० लाख ७९ हजार बैंक ग्यारेन्टी जफत गरेर सडक डिभिजनले ठेक्का तोडिसकेको छ ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।