तीनकुनेमा बबन्डर मच्चाएर फरार भएका प्रसाईं अन्ततः कारबाहीको दायरामा

चैत्र २९, २०८१ |किरण पौडेल|रमेश धमला
तीनकुनेमा बबन्डर मच्चाएर फरार भएका प्रसाईं अन्ततः कारबाहीको दायरामा

काठमाडौं । राजतन्त्र पक्षधर विभिन्न समूहले चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्नुअघि नवराज सुवेदी संयोजक रहेको समूहले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको कमान्डर भन्दै प्रदर्शनको नेतृत्व सुम्पियो । तिनै प्रसाईंको नेतृत्वमा तीनकुनेमा राजनीतिक विरोध प्रदर्शन होइन, निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट भयो । एक पत्रकारसहित दुई जनाको मृत्यु भयो । 

तर त्यही दिनदेखि फरार रहेका प्रसाईं दुई सातापछि बल्ल कारबाहीको दायरामा आएका छन् । प्रसाईंमाथिको अनुसन्धानले चैत १५ गते भएको बबन्डर र उत्पातको फेहरिस्त खुल्न सक्छ ।

बिहीबार साँझ गृह मन्त्रालयमा नेपाल प्रहरीका उच्च अधिकृतसहितको गोप्य बैठक भइरहेको थियो । चैत १५ गतेको हिंसात्मक आन्दोलनका मुख्य नाइके मानिएका दुर्गा प्रसाईंले भारतको आसाममा आत्मसमर्पण गरेको सूचना आएपछि उनलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको थियो । त्यही बेला समाचार सार्वजनिक भयो । 

अप्ठेरोमा परेको प्रहरीले प्रतिक्रियास्वरूप दुर्गाको खोजी जारी रहेको जनायो । तर शुक्रबार बिहान भद्रपुरमा नियन्त्रणको लिएको भन्दै मेची पुल क्षेत्रबाट भद्रपुरको चन्द्रगढी विमानस्थल हुँदै प्रसाईंलाई काठमाडौं ल्याइयो । प्रसाईं चैत १५ गते भएको घटनाका मुख्य आरोपी हुन् । 

बिहान करिब सवा १० बजे झापा ल्याइएका प्रसाईंसहित उनका सुरक्षागार्ड दीपक खड्कालाई पनि काठमाडौं ल्याएर अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट १२ दिन हिरासतमा राख्ने म्याद लिएको छ ।

यसअघि ८० जनाभन्दा बढी पक्राउ गरिसकेको प्रहरीले प्रसाईंमाथि राज्यविरुद्धको अपराध, संगठित अपराध, पत्रकार सुरेश रजकको हत्या लगायतका कसुरमा मुद्दा चलाउन सक्ने छ । दुर्गा प्रसाईं पक्राउपछि प्रहरीले १५ गते हिंसात्मक वितण्डा गर्ने योजना कसरी बनेको थियो भन्ने अनुसन्धानले खुलाउन सक्ने छ । 

१५ गतेको प्रदर्शनमा तैनाथ सुरक्षाकर्मीमाथि गाडी चढाउनेसम्मको घटना गराएलगत्तै प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएको थियो । तर लगत्तै कसको आदेशमा उनी छुटे ? अहिलेसम्म खुलाइएको छैन । आफ्नो नियन्त्रणमै भएको व्यक्ति फरार भएपछि प्रहरीले विशेष टोली नै परिचालन गरेर खोजी चलाइरहेको थियो । भारतमा लुकेको स्थान समेत पहिचान गरिसकेको नेपाल प्रहरीले दुर्गालाई ल्याउने कानुनी बाटो नभएपछि व्यावहारिक बाटो खोजेर कारबाहीको दायरामा ल्याएको हो । 

भारतमा स्थान बदलेर बस्दै आएका प्रसाईं जब प्रहरी आफ्नो नजिक आइसकेको थाहा पाए, बुधबार मात्रै भिडिओ नै सार्वजनिक गरेर आफनो ज्यानको सुरक्षा भए उपस्थित हुने बताएका थिए । त्यसको २४ घण्टापछि आसाम प्रहरीमा पुगेको उनको सचिवालयले बताएको छ । यसअघि साइबर अपराधको कसुरमा पनि पक्राउ परेर धरौटीमा छुटेका प्रसाईंका लागि यसपटक त्यति सहज भने छैन ।

कहिले माओवादीसँग त कहिले एमाले हुँदै राजतन्त्र पक्षधर बन्न पुगेका प्रसाईं राजनीतिक आडमा आफ्नो प्रभाव विस्तार गर्दै आएका विवादित मेडिकल व्यवसायीको रूपमा परिचित छन् । चैत १५ को घटनासँग सम्बन्धित ठाउँठाउँका सीसी क्यामरा र सामाजिक सञ्जालमा आएका दृश्यहरूको सूक्ष्म अनुसन्धान गर्दै संलग्नहरूको पहिचान गरिरहेको प्रहरीले प्रसाईंलाई भाग्न प्रहरीभित्रकै शक्तिले सघायो वा कुनै राजनीतिक शक्तिले हो, त्यसबारे पनि गम्भीर अनुसन्धान गर्नुपर्ने छ ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।

Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।