सगरमाथा संवादमा जोडियो आरोही सम्मेलन, जलवायुका विभिन्न आयाममा छलफल हुँदै

वैशाख ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सगरमाथा संवादमा जोडियो आरोही सम्मेलन, जलवायुका विभिन्न आयाममा छलफल हुँदै

काठमाडौं । सरकारले गर्न लागेको सगरमाथा संवाद कार्यक्रममा सोलुखुम्बुको थामेमा हुन लागेको आरोही सम्मेलन (समिटर्स समिट) जोडिएको छ । जलवायु न्यायका लागि तीनै तहका सरकारसँगको समन्वयमा यही वैशाख ९ गते थामेमा सम्मेलन हुँदैछ । 

जलवायु न्यायको क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै फाउन्डेशन’ले आयोजना गरेको उक्त सम्मेलनमा देश, विदेशको परिचित हिमाल आरोही, जलवायु र पर्यटन विज्ञ एवं सरकारी तहबीच प्यानल छलफल हुँदैछ । विभिन्न क्षेत्रमा सक्रिय महिला नेतृत्वहरूको समेत सहभागी र अगुवाइ रहेको साथसाथै फाउन्डेशनले गर्न लागेको सम्मेलनलाई बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, सगरमाथा संवाद सचिवालयले अपनत्व लिएको हो ।

“सगरमाथा संवाद हुनुअघि जलवायु न्यायका लागि हामीले गर्नुपर्ने तयारी, उठाउनुपर्ने विषय र हिमालका मुद्दा एकीकृत गर्न प्रभावित क्षेत्रमै पुगेर आरोही सम्मेलन गर्न लागेका हौं । यो कार्यक्रमका लागि सरोकारवाला संघसंस्था सहित सरकारले पनि अपनत्व लिएकोमा हामी उत्साहित छौं”, सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै साथसाथैकी अध्यक्ष प्रजिता कार्कीले भन्नुभयो ।

सम्मेलनमा सगरमाथा आरोही कतारकी राजकुमारी आस्मा अल थामी, नेपालका चर्चित आरोहीहरू कामिरिता शेर्पा, मिंङ्मा डेभिड शेर्पा, कान्छा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङ लगायत सहभागी हुँदैछन् ।

संघीय वन तथा भूसंरक्षण मन्त्रालय, कोशी प्रदेश सरकार र स्थानीय सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको समेत सहआयोजनामा हुने यो कार्यक्रममा जलवायु परिवर्तनका कारण गत वर्ष हिमपहिरो गई समस्यामा परेका पीडितको समेत उल्लेख्य सहभागिता हुने आयोजकले जनाएको छ । समिटर्स समिट, अ डायलग फर क्लाइमेट जस्टिस शीर्षकको यो सम्मेलनकै क्रममा स्थानीय गाउँपालिका सहित आयोजकले गत वर्ष हिमपहिरो जानुको कारण, त्यसले अरू भूभागमा परेका असर र समाधानका लागि समेत यो कार्यक्रमलाई अर्थपूर्ण रूपमा लिएका छन् ।

आयोजकले गत वर्षको पहिरोले पुर्‍याएको क्षति र अब त्यस भेगमा दुखद् अवस्था नआओस् भनी विज्ञहरू सहित सहभागी गराएर अध्ययन अनुसन्धानको कार्यलाई समेत अघि बढाएको छ । त्यसमा काठमाडौं विश्वविद्यालय र अन्य सम्बद्ध निकायमा प्रक्रिया अघि बढिरहेको जानकारी अध्यक्ष कार्कीले दिनुभयो ।

यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसीए) सहितका संघसंस्था सहआयोजकका रूपमा जोडिएका छन् ।

कार्यक्रमको स्थानीय तह र क्षेत्रमा समेत व्यापक तयारी भइरहेको र सरकारलाई उचित सहयोग हुने गरी आरोही र विज्ञहरू जुटाउने काम भइरहेको जानकारी थामे क्षेत्रको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङमा छिरिङ शेर्पाले बताउनुभयो । उहाँले यो कार्यक्रमलाई व्यापक सफल बनाउनु भनेको सगरमाथा संवाद मार्फत नेपालको जलवायुको मुद्दालाई अन्तर्राष्ट्रियकरण हुनु भएकाले सबैको सहयोग हुने अपेक्षा समेत गर्नुभयो ।

वैशाख ९ गते थामेको उक्त आरोही सम्मेलनमा सरकारको उच्च तहको सहभागिता गराउने तयारी समेत छ । नेपाल सरकारले यही जेठ २ गतेदेखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ शीर्षकमा विभिन्न देशको सहभागिता हुने गरी सगरमाथा संवाद आयोजना गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइ र सक्रियतामा यो संवाद तय भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.