कञ्चनपुर । वर्षाले किसानलाई राहत मात्रै दिएन आहत पनि बनाएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लामा चट्याङ, हावाहुरी र असिनापानीले जनधनको क्षति गरेको छ ।
बझाङ, बाजुरा र डोटीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । असिनापानीले काट्न बाँकी रहेको र काटेर थन्क्याउने तयारीमा रहेको गहुँबालीमा समेत नोक्सान पुगेको छ ।
वर्षाले केरा सहितका फलफूलमा समेत केही क्षति पुर्याएको छ । तर मकै र उखु खेतीका लागि भने उक्त हल्का वर्षा राहतसिद्ध भएको छ । वर्षाले जमिन भिजेका कारण बाली सप्रिने किसानहरूको अपेक्षा छ ।
हावाहुरीले केही स्थानीयवासीको घरमा क्षति पुर्याएको छ भने केही ठाउँमा रुख ढलेका छन् ।
हावाहुरीकै कारण कञ्चनपुर सहितका केही जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भयो । नेपाल विद्युत् प्राधिकरणका अनुसार मर्मत कार्य गरिएको छ । वर्षाका कारण पहाडी जिल्लाका केही स्थानमा पहिरो गएर सडक सञ्जाल पनि अवरुद्ध भएका खबरहरू प्राप्त भएका छन् ।
फागुनदेखि जेठसम्मको प्रि-मनसुन अवधिमा चट्याङ, हावाहुरी, असिना र अचानक वर्षा जस्ता मौसमी जोखिमहरू बढ्ने भएकाले विशेष सतर्कता आवश्यक हुन्छ । यस्तो मौसममा जल तथा मौसम विज्ञान विभागले जारी गर्ने नियमित सूचनाहरू सबैभन्दा प्रभावकारी बन्न सक्छन् ।