ताप्लेजुङ । मौसमको अनुकुलताका हिसाबले मानव जनसङ्ख्याले पहाडी क्षेत्रमा बसोबास गर्न रुचाउनुपर्ने हो । तर रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका सुख सुविधाको खोजीमा बसाइँ सर्ने प्रवृत्ति तिव्र बनेपछि पहाडहरू रित्तिँदै गएका छन् ।
तिव्र बसाइँसराइको प्रतिनिधि जिल्ला हुन् खोटाङ र ताप्लेजुङ । २०६८ सालमा २ लाख ६ हजार ३ सय १२ रहेको खोटाङको जनसङ्ख्या पछिल्लो एक दशकमा घटेर २०७८ सम्म आइपुग्दा १ लाख ५७ हजार २ सय ९८ मा झरेको छ ।
सम्भावनाको खोजी गर्दै मानिसहरू शहर छिर्ने प्रवृ्त्ति तिव्र हुँदा १ सय १९ वर्गकिलोमिटर मात्रै क्षेत्रफल भएको देशकै सबैभन्दा सानो जिल्ला भक्तपुरमा बसाइँसराइ गरी आउनेहरू सबैभन्दा धेरै देखिएका हुन् ।