आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

चैत्र १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिमका वनमन्त्रीले दिए राजीनामा

काठमाडौं । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । 

शुक्रबार वन मन्त्रालय र आफूसँग जोडेर आर्थिक चलखेल भएको भन्ने अडियो सार्वजनिक भएपछि उहाँले नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ ।

उहाँले आफूले अडियोमा सुनिएजस्तो कुनै लेनदेन नगरेको दाबी गर्दै वन सम्बन्धि अनुभव नभएका कारण छलफलमा मात्र गरेको बताउनुभएको छ । मन्त्री चौधरीले आफूमाथि छानबिन गर्न माग समेत गर्नुभएको छ । 

छानबिनमा दोषी देखिए कारवाही भोग्न तयार रहेको समेत उहाँले बताउनुभयो । मन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नुभएको हो । मन्त्री चौधरीले दीगो वन व्यवस्थापन सम्बन्धि कार्यविधि आर्थिक लाभ लिनेगरि बनाउने विषयमा छलफल गरेको अडियो सार्वजनिक भएको थियो । 

तर त्यो अडियो भदौतिरको भएको उहाँले बताउनुभयो । उहाँले त्यसबेला भर्खरै मन्त्री बनेका कारण सचिवालयका कर्मचारीको आग्रहमा आफ्नै निवासमा उनीहरूसँग छलफल गरेको तर नियत गलत नभएको दाबी गर्नुभयो । 

अडियोमा मुख्यमन्त्रीलाई मिलाउने कुरा सुनिएको तर आफूले त्यसो नगरेको बताउनुभएको छ । सार्वजनिक अडियोमा दीगो वन व्यवस्थापनसम्बन्धी कार्यविधि त्यसबेला आइतबार पारित गर्ने बताउनुभएका मन्त्रीले लेनदेन गरेको सुनिन्छ । मन्त्री चौधरीले उक्त कार्यविधि अहिलेसम्म पारित नभएको जानकारी गराउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.