सप्तरी । कथित राजावादीहरुले शुक्रबार काठमाडौंस्थित तिनकुनेमा गरेको अराजकतावादी प्रदर्शनको क्रममा एक जना पत्रकारको हत्या, तीनजना भन्दा बढी सञ्चारकर्मीमाथि कुटपिट र दुई सञ्चारगृहमाथि भएको तोडफोड-आगजनीको विरोधमा शनिवार सप्तरीमा प्रदर्शन भएको छ ।
उच्छृङ्खल राजावादीहरूले पत्रकार र सञ्चारगृहमाथि ताकेर गरिएको प्रहार प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै नेपाल पत्रकार महासंघ सप्तरीको अगुवाइमा सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको हो ।
स्थानीय पत्रकार महासंघको कार्यालयबाट निस्किएको पत्रकारहरुको विरोध जुलुस राजविराज नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए ।
राजावादीहरूले तिनकुनेस्थित एक घरबाट रिपोर्टिङ गरिरहेका पत्रकार सुरेश रजकलाई कोठामा थुनेर बाहिरबाट आगो लगाईदिएको भिडियोहरू नै सामाजिक सञ्जालमा भाइरल भइसकेको अवस्थामा पनि राज्यले त्यस्ता अपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही अगाडि बढाउन सप्तरीका पत्रकारहरूले माग गरेका छन् ।
जनतालाई सुचनाको माध्यमले सुचित गराउने जिम्मेवारीमा रहेकै बखत देशकै प्रमुख टेलिभिजन कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा तोडफोडसँगै आगजनी गर्नु राजावादीहरूको असली चरित्र प्रदर्शन भएको भन्दै भिडियोहरूमा अनुहार सार्वजनिक भएका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही गर्न सरकारसँग पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले माग गर्नुभयो ।
यसैगरी समाचार संकलनमा खटिएका हिमालय टेलिभिजनका पत्रकार र अनलाइनखबरका पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही गर्नसमेत माग गरिएको छ ।
संविधान बमोजिम अभिव्यक्ति दिन र शान्तिपूर्ण प्रदर्शनको नाममा अराजक गतिविधिसँगै मिडियामाथि आक्रमण गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी आन्दोलनरत पत्रकारहरूले दिएका छन् ।