बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले पत्रकार हत्या तथा सञ्चारमाध्यममाथि भएको आक्रमणको विरोधमा विरोध प्रदर्शन गरेको छ। महासंघले कालोपट्टी बाँधेर तथा श्रद्धाञ्जली व्यक्त गर्दै बनेपामा विरोध सभा सम्पन्न गरेको हो।
महासंघका अनुसार हालैका दिनहरूमा पत्रकारहरूमाथि भएका हत्या, दमन, सञ्चारमाध्यममाथि गरिएका आगजनी तथा हिंसात्मक घटनाहरूको विरोधस्वरूप यो सभा आयोजना गरिएको हो। स्वतन्त्र प्रेसको रक्षा र अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि नेपाल पत्रकार महासंघले विरोध जनाएको हो।
विरोध सभामा महासंघका प्रतिनिधिहरू, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा प्रेस स्वतन्त्रताको पक्षधर विभिन्न व्यक्ति उपस्थित थिए। पत्रकारिता लोकतन्त्रको आधारभूत खम्बा भएको भन्दै महासंघले पत्रकारहरूमाथि कुनै पनि हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट पारेको छ।
यस सभाले पत्रकारहरूको सुरक्षा, प्रेस स्वतन्त्रताको संरक्षण, तथा सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ। नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकद्वारा आयोजित यो विरोध सभाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।