काठमाडौं । कान्तिपुर टेलिभिजन र कान्तिपुर मिडिया ग्रुपले राजतन्त्र पक्षधर समूहले काठमाडौंमा आज गरेको प्रदर्शनका क्रममा कान्तिपुर टेलिभिजनको कार्यालयमा गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ ।
राजनीतिक सभाको आह्वान गरेको राजतन्त्र पक्षधर विभिन्न समूहले आज काठमाडौंको तिनकुनेमा सभा गर्ने कार्यक्रम रहेकोमा सभा नगरी हिंसात्मक गतिविधिमा उत्रिएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र अन्य समूह सम्मिलित प्रदर्शनकारी समूहले तोडफोड, आगजनी र लुटपाट समेत मच्चाएको थियो। सो क्रममा तिनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा अराजक समूहले ढुंगामुढा प्रहार गर्दै कार्यालयमा क्षति पुर्याए । सो क्रममा पत्रकार तथा कर्मचारी आतंकित भएका थिए । घटनामा संलग्नमाथि तत्काल कारबाहीको माग गर्दै कान्तिपुर मिडिया ग्रुपले यसको नेतृत्व गर्नेमाथिसमेत फौजदारी कानुनअन्तर्गत कारबाही हुनुपर्ने माग गरेको छ ।
कान्तिपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ - स्वतन्त्र प्रेसमाथि राजतन्त्र समर्थक दल र समूहको उक्साहटमा प्रदर्शनमा उत्रिएकाहरूको यो आक्रमण निन्दनीय छ । राजनीतिक दल वा समूहको आवरणमा विरोध, प्रदर्शन वा आन्दोलन भन्दै अराजकता फैलाउने छुट कसैलाई छैन ।
कान्तिपुर टेलिभिजनलगायत प्रदर्शनकारीले अन्नपूर्ण मिडिया ग्रुपको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए भने हिमालय टिभीको भ्यान समेत तोडफोड गरेका थिए । यस्तै विभिन्न राजनितिक दलका कार्यालयमा समेत तोडफोड गरेका उनीहरूले सपिङ सेन्टरमा पनि लुटपाट गरेका थिए ।
विज्ञप्तिमा कान्तिपुरले आन्दोलन आह्ववान गर्ने समूहले यसको जिम्मेवारी लिनुपर्छ र कानुनी कारबाहीको भागिदार हुनुपर्ने जिकिर समेत गरेको छ ।