बाँके । बाँकेको नौबस्तामा १० वर्षदेखिको अवरोध पन्छाउदै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अघि बढेको छ । आफ्नो स्वामित्वको ३ सय ३८ बिघा जमिनमध्ये १ सय २५ बिघा छाडेर बाँकी २ सय ५३ बिघा प्लटिङ गरी उद्योगहरूलाई कम्तिमा ४० वर्षका लागि लिजमा दिने योजना छ । त्यसका लागि पनि कुन मोडल अपनाउने ? त्यो पनि छिट्टै टुङ्गो लगाउने तयारीमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड छ ।
यति ठूलो संख्यामा सुरक्षा बल परिचालन गर्दा पनि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले आफ्नो लालपूर्जामा रहेको ३ सय ३८ बिघामध्ये १ सय २५ बिघा जमिन छाडेर बाँकी २ सय ५३ बिघा मात्र उद्योगी व्यवसायीलाई भाडामा उपलब्ध गराउने भएको छ । सानाठूला डाँडाकाँडा र खाल्डाहरू भएको यो जमिन सम्याउनै एक वर्षभन्दा बढी लाग्ने देखिएको छ । त्यसैले सबैभन्दा पहिले जग्गा सम्याउन ठेक्का दिइने छ । त्यसपछि प्लटिङ गरि ग्राभल सडक निर्माण गरिने भएको छ । पानी, बिजुली र सुरक्षासमेत सुनिश्चित गरिएपछि कम्तिमा ४० वर्षका लागि जग्गा भाडामा दिन सकिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अधिकारी बताउँछन् ।
उद्योगीहरू सरकारले सुलभ दरमा जग्गा भाडामा उपलब्ध गराए भौतिक पूर्वाधार आफै बनाउने पक्षमा छन् । यो प्रकृयामा जान कम्तिमा एक वर्षभन्दा बढी लाग्ने छ । किनकी परियोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर नै संशोधन गर्नुपर्ने देखिएको छ । यस्ता कागजी प्रकृया पुरा गर्नुअघि नै परियोजना निर्माण कार्यका लागि सरकारले सबैभन्दा पहिले आर्थिक स्रोत सुनिश्चित गर्नुपर्ने उद्योगी व्यवसायीको भनाइ छ ।
९ अर्ब रुपैयाँ प्रारम्भिक लागत अनुमान गरिएको यो परियोजनाको लागत बढेर दोब्बर भइसकेको छ । जबकी परियोजनासँग ३५ करोडभन्दा बढी बजेट छैन । यस्तो अवस्थामा सरकारले बजेट नदिने हो भने न यहाँ पूर्वाधार निर्माण हुनसक्छन न त उद्योगीको माग र चाहना नै ।
५ वर्षअघि शिलन्यास गर्दा नै ५ वर्षभित्र सबै पूर्वाधार बनाइसक्ने भनिएको थियो । निर्माण कार्य सकिनुपर्ने बेलामा बल्ल अवरोध पन्छाइदै छ । यस्तो अवस्थामा सरकार र औद्योगीक क्षेत्र व्यवस्थापन लिमिटेड कसरी अघि बढछ ? त्यो हेर्न बाँकी नै छ ।