काठमाडौं । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्नेछ भने दिउँसो सवा १२ बजे राष्ट्रियसभा बैठक बस्नेछ ।
विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउनुको कारणबारे प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले आज पनि संसद अवरोध गर्ने जनाएका छन् ।
हिजोको बैठकमा विपक्षी दलको अवरोधका कारण आजसम्मका लागि स्थगित भएको छ । हिजोको बैठकको सुरुमै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिनुभयो ।
सांसद बस्नेतले राम्रो काम गर्दागर्दै पनि स्वार्थ समूहका लागि कुलमान घिसिङलाई हटाइएको आरोप लगाउनुभयो । उहाँले सरकारले गरेको निर्णय सच्च्याउन माग गर्नुभयो भने यस विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिनुभयो ।
सांसद बस्नेतले बोलिसकेपछि विपक्षी सांसदहरू पुन: उठे । सभामुख घिमिरले नियमित कारबाही अघि बढाउन सहयोगका लागि आग्रह गरेपनि विपक्षी सांसदले अवरोध जारी राखेपछि ३० मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
तर २ घण्टासम्म सहमतिको प्रयास भएपनि विपक्षीले प्रधानमन्त्रीको जवाफ नआए संसद् चल्न नदिने अडान राखेपछि पुन: सुचना टाँस गरेर बैठक स्थगित भयो । र, पुनः ३ बजे बस्ने गरी बैठक सारिएको थियो ।
तर दोस्रो बैठकमा पनि निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरी आज बिहान ११ बजेका लागि बोलाउनुभएको हो ।