काठमाडौं । राजावादीहरुले शुक्रबार गरेको आगजनीबाट काठमाडौंको जडिबुटी चोकमा रहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड ध्वस्त भयो । हिंसात्मक प्रदर्शन गर्दै पुगेको राजावादी समूहले कम्पनीमा काम गरिरहेका कर्मचारीलाई नै जलाउने उद्घोष गर्दै तोडफोड र आगजनी गरेका थिए । कम्पनीको भवनसहित सवारी साधन र उपकरण गरेर एक अर्ब बराबरको क्षति भएको छ । यो कम्पनीमा प्रत्यक्ष /अप्रत्यक्ष जोडिएका १५ सय परिवारको आर्थिक आर्जनको स्रोतसमेत टुटेको छ ।
विकास आचार्य र रुपक कोइरालाको स्थलगत रिपोर्ट
लमजुङकी इन्द्रा परियार र सिन्धुपाल्चोककी उमा बजगाईं झन्डै तीन वर्षदेखि ज्यालादारी कर्मचारीको रुपमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा काम गर्दै आउनुभएको छ । कार्यालय आएर काम गरेको दिन ५ सय ७५ रुपैयाँ कमाइ हुन्थ्यो । तर राजावादी समूहले शुक्रबार कम्पनीमा तोडफोड र आगजनी गरेपछि इन्द्रा र उमा जस्ता झन्डै ५० जना श्रमिक आइतबार कार्यालय आएर दिनभर टोलाउँदै गफ गर्दै बसे, काम नभएपछि यत्तिकै घर फर्किए । चिन्ता, अब घरव्यवहार कसरी चलाउने ?
शुक्रबार कार्यालय समय सकिए पनि महाप्रबन्धक संगीता यादवसहित केही कर्मचारीको बैठक चलिरहेको थियो । करिब साढे ३ बजेको समयमा एक हुल प्रदर्शनकारीले सडकबाट कम्पनीको मुख्य प्रशासनिक कार्यालयमा ढुंगामुढा गर्न थाले । मुख्य भवनका सबै सिसा फुटाइसकेपछि प्रदर्शनकारी मुख्य गेटबाट कार्यालय प्रवेश गरे । पेट्रोल र लाइटर साथमा लिएर पसेका उनीहरुले सुरक्षा गार्ड बस्ने भवनमा तोडफोड गरेर आगो लगाएपछि कार्यालय परिसरमा रहेका सबारी साधनमा आक्रमण गरे ।
हिंसात्मक बनेका प्रदर्शनकारीले १३ वटा चार चक्के सवारी साधन, ५ वटा मोटरसाइकल र एउटा स्कुटर खरानी बनाए । प्रदर्शनकारीहरुले कर्मचारीमाथि पनि धावा बोल्न थालेपछि बैठकमा रहेका कर्मचारीहरुले झ्यालबाट भागेर ज्यान जोगाए ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका महाप्रबन्धक संगीता यादव भन्नुहुन्छ- हामीलाई खेदीखेदी मार्न खोजियो । अब हाम्रो कम्पनी र हामीलाई सरकारले हेर्नुपर्छ, जिम्मा लिनुपर्छ ।
प्रदर्शनकारीहरु यतिमै रोकिएनन् । मुख्य कार्यालयको भवन छेउमै रहेको जडीबुटी कारखाना, कच्चा पदार्थ भण्डारण गर्ने कोठा, उत्पादन भएका जडिबुटी प्याकेजिङ गर्ने र उत्पादन राख्ने कोठामा आगो लगाउन थाले । आगजनीका कारण केही समयअघि मात्रै खरिद गरि जडान गरिएको करिब ५ करोड मूल्यको अत्याधुनिक मेसिन जलेर नष्ट भयो । औषधि उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ, प्याकेजिङ गर्ने प्लास्टिक र सिसाका बोतल, उत्पादन प्याकेजिङ गर्ने सामग्री, मेसिनसहितका उपकरणसँगै फर्निचर र सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् ।
२०३८ सालमा स्थापित जडिबुटी कम्पनी वन मन्त्रालयअन्तर्गत छ । तर यो कम्पनी आफैंले जडिबुटी खेती गर्ने, खरिद गर्ने, उत्पादन र व्यापार गरेर आम्दानी गर्दै आएको छ । कम्पनीमा दर्जनभन्दा बढी कर्मचारीसहित दैनिक ५० ज्यालादारी श्रमिकले काम गर्दै आएका थिए । प्रत्यक्ष अप्रत्यक्ष रुपमा १५ सय परिवारले जडिबुटी बिक्री गरेर आर्थिक आर्जन गरिरहेका थिए । केही वर्षदेखि नाफामा जान थालेको कम्पनीले २०७७ सालमा बोनससमेत बाँडेको थियो । कम्पनी खरानी भएसँगै श्रमिकहरु कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् । सरकारले भने अस्थायी रुपमा कार्यालय खडा गरेर केही समयभित्रै उत्पादन सुरु गर्ने वातावरण मिलाउने जनाएको छ ।
कम्पनीले जडिबुटीबाट सन्चो, सन्चो बाम, हिमालयन मसाज वेल, हेयर वेल, सिलाजितलगायत उत्पादन गर्ने गरेको थियो ।