बाँकेको नरैनापुरमा भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट

चैत्र १२, २०८१ |जे पाण्डे
बाँकेको नरैनापुरमा भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट

बाँके । बाँकेको नरैनापुरमा भएको आगलागीमा १७ घरगोठ जलेर नष्ट भएका छन् ।

नरैनापुर गाउँपालिका–४ जयरामपुर्वामा मङ्गलबार दिउँसो ३ बजेबाट सुरु भएको आगलागीबाट १७ वटा घरभन्दा धेरै घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

दिउँसो जुमाई खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।

 खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो फैलिएको थियो । आगलागीका कारण २५ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बताउनु भयो ।

टोलीले घटना स्थलमा पुगेर आगलागी पीडितलाई राहत दिने प्रतिबद्धता गरेको छ ।

विभिन्न निकायसँगको समन्वयमा आज रातिको लागि पाल र खानाको व्यवस्था गर्ने काम भइरहेको र जिल्ला विपद् व्यवस्थापन समितिलाई थप राहतको व्यवस्था गर्न माग गरिएको अध्यक्ष शाहले बताउनुभयो ।


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।